२४ घण्टामा ३३७ जनामा संक्रमण पुष्टि, भरसक लकडाउन नगर्ने पक्षमा सरकार

spot_img

पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार सो संख्या बढेर ३३७ जना पुगेको हो । यसअघि बिहीबार ३३२ जनामा संक्रमण पुष्टि भएको थियो ।
छिमेकी देश भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सो बीचमा १ जनाको मृत्यु भएको छ भने १५१ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । यस्तै हालसम्म ३ हजार ३९ जनाको मृत्यु हुँदा सक्रिय संक्रमित २८ सय जना रहेका छन् ।

लकडाउन नगर्ने पक्षमा सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी अर्थात लकडाउन लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए ।

उनले भने, “विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।”

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गरे ।

पर्यटनमन्त्री ढकालले छ हजार माथिका २७ चुली (पिक) को आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एनएमएलाई यसका अतिरिक्त अझै विस्तार गर्नेतर्फ सरकार सकारात्मक रहेको तथा सोको पहालकदमी गर्न पर्यटन मन्त्रालय तयार रहेको बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एनएमएको हालको भूमिकालाई थप प्रभावकारी तुल्याउन तथा संस्थालाई नवप्रवर्तन र पूर्वाधार विकासमा सक्रियता गराउन सुझाव दिए ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय