काठमाडौं,०५ असार । कक्षा १२ को नतिजामा नन्-ग्रेडेड (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि पूरक परीक्षा साउन २ र ३ गते सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड ले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।
साउन २ गते अनिवार्य अंग्रेजी तथा एक विषय मात्र परीक्षा दिने विद्यार्थीको सबै विषयको परीक्षा सञ्चालन हुनेछ। दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि भने सानो कोड नम्बर भएको विषयको परीक्षा पनि सोही दिन हुनेछ। साउन ३ गते दुई विषय दिने परीक्षार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।
बोर्डका अनुसार सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी अधिकतम दुई विषयमा एनजी प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।
परीक्षामा सहभागी हुन विद्यार्थीले असार १९ गतेभित्र ८०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। त्यसपछि छुट भएका परीक्षार्थीले असार २६ गतेभित्र १ हजार ६०० रुपैयाँ विलम्ब शुल्कसहित आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यस वर्ष कक्षा १२ को परीक्षाफल आज सार्वजनिक भएको हो। बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। कुल ३ लाख ३२ हजारभन्दा बढी परीक्षार्थीमध्ये २ लाख ३१ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजाप्रति चित्त नबुझ्ने विद्यार्थीले प्रतिविषय १ हजार रुपैयाँ शुल्क तिरेर ७ दिनभित्र पुनर्योगका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ।




