काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीसँग जुध्न नेपाललाई आपत्कालीन सहयोगको खाँचो रहेको जनाएको छ।
शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्लूएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय नेपालसहितका अन्य केही मुलुकमा पनि संक्रमण र अस्पताल भर्ना दर ह्वात्तै बढेको बताए।
महानिर्देशक गेहब्रेयससले नेपाल, श्रीलंका, भियतनाम, कम्बोडियो, थाईल्याण्ड र इजिप्टमा पनि आपत्कालीन सहयोगको खाँचो रहेको बताए।
‘भारतमा मात्रै हैन, नेपाल, श्रीलंका, भियतनाम, कम्बोडियो, थाईल्याण्ड र इजिप्टमा पनि आपत्कालीन सहयोगको खाँचो छ,’ महानिर्देशक गेहब्रेयससले भने, ‘यी देशहरुमा अहिले संक्रमण र अस्पताल भर्ना हुने दर ह्वात्तै बढेको छ।’
पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्ट लगायतका स्वास्थ्य सामग्री पठाएको पनि महानिर्देशक गेहब्रेयससको भनाइ छ।

