बीरगन्ज,०५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन्।
चितवनमा हुने महाधिवेशनका लागि विशिष्ट अतिथिका रूपमा गरिएको निमन्त्रणालाई उनले अस्वीकार गरेका हुन्। रास्वपा सभापति रवि लामिछाने ले उनलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेका थिए।
साम्पाङले सामाजिक सञ्जालमार्फत निम्तोप्रति धन्यवाद व्यक्त गर्दै हालको राजनीतिक परिस्थितिका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने स्पष्ट पारेका छन्। उनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको स्पष्ट धारणा नआएकोप्रति असन्तुष्टि जनाउँदै सहभागी नहुने निर्णय गरेको उल्लेख गरेका छन्।
उनको भनाइ उद्धृत गर्दै, रास्वपाले निम्तो दिएकोमा धन्यवाद भए पनि राजनीतिक अवस्थाका कारण उपस्थित हुन नसक्ने बताएका छन्।
रास्वपा को प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ, जहाँ देशभरबाट प्रतिनिधिहरू सहभागी हुने तयारी छ।




