spot_img

वडा अध्यक्ष–प्रधानाध्यापक विवादले हरपुर विद्यालयमा दिवा खाजा कार्यक्रम २ महिनादेखि ठप्प

spot_img
spot_img

बीरगन्ज,०५ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि) हरपुरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष (वडाध्यक्ष) र प्रधानाध्यापकबीचको विवादका कारण दिवा खाजा कार्यक्रम करिब दुई महिनादेखि बन्द भएको छ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हरपुर मा संघीय सरकारले सञ्चालन गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पोषणयुक्त खाजा उपलब्ध गराइँदै आएको थियो। तर वैशाखदेखि कार्यक्रम रोकिँदा सयौँ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन्।

विद्यालयमा कक्षा ६ देखि ५ सम्मका (बालविकासदेखि आधारभूत तहसम्म) विद्यार्थी अध्ययनरत छन्। बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने कक्षामा खाजा बन्द भएपछि विद्यार्थी कक्षा छोडेर घर फर्किने र पुनः नफर्कने समस्या देखिएको शिक्षकहरूले बताएका छन्।

शिक्षिका निरु पुनका अनुसार खाजा कार्यक्रम बन्द भएपछि कक्षामा उपस्थिति घटेको छ भने गर्मीका कारण केही विद्यार्थी बेहोस हुने अवस्था समेत देखिएको छ। अर्का शिक्षक कृष्णकुमार दासले पनि नियमित उपस्थिति घटेको पुष्टि गरेका छन्।

प्रधानाध्यापक राम नरेश यादवले वडाध्यक्षकै कारण कार्यक्रम रोकिएको आरोप लगाउँदै वातावरण सहज भए तुरुन्तै कार्यक्रम पुनः सञ्चालन गर्न सकिने बताएका छन्। उनले व्यवस्थापन समितिको बैठकमा वडाध्यक्षको अनुपस्थितिले समस्या बढेको दाबी गरेका छन्।

तर वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुल्तान अन्सारीले भने प्रधानाध्यापककै लापरबाहीका कारण कार्यक्रम प्रभावित भएको आरोप लगाएका छन्। उनले पटक–पटक निर्देशन दिँदा पनि कार्यान्वयन नभएको र आवश्यक जवाफ नपाएको बताएका छन्।

यसबीच जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा महाशाखाले दुवै पक्षबीचको विवादका कारण विद्यालयको शैक्षिक वातावरण बिग्रिएको निष्कर्ष निकाल्दै प्रधानाध्यापक परिवर्तन गर्न सुझाव दिएको छ।

स्थानीय सरोकारवालाहरूले आन्तरिक विवादका कारण विपन्न तथा श्रमिक वर्गका बालबालिकाको शिक्षा र पोषण कार्यक्रम नै प्रभावित हुनु गम्भीर समस्या भएको बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय