spot_img

आरजु राणालाई अख्तियारको समय सकियो, अनुसन्धान अब अभियोगतर्फ

spot_img
spot_img

काठमाडौँ,०५ असार । राहदानी छपाइमा भएको अनियमिततासम्बन्धी प्रकरणमा बयान दिन बोलाइएकी कांग्रेस नेतृ आरजु राणा देउवा लाई दिएको समयसीमा सकिएसँगै अनुसन्धान अब अर्को चरणमा प्रवेश गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले असार २ गते उनको बुढानीलकण्ठस्थित निवासमा म्याद टाँसेर बयानका लागि उपस्थित हुन निर्देशन दिएको थियो। तर देउवाले आफू विदेशमा रहेको भन्दै तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी इमेलमार्फत आयोगलाई गराएकी छन्।

अख्तियारका अनुसन्धान अधिकृतहरूले अहिले भर्चुअल माध्यमबाट बयान लिने विकल्पबारे छलफल गरिरहेका छन्। इमेलमार्फत प्रश्न पठाएर जवाफ लिने सम्भावनासमेत अध्ययन भइरहेको आयोग स्रोतले जनाएको छ।

यदि बयान लिन नसकिएको खण्डमा प्राप्त विवरणलाई मिसिलमा राखेर विशेष अदालतमा अभियोग दायर गर्ने तयारी भइरहेको छ। त्यस्तो अवस्थामा उनलाई फरार प्रतिवादी कायम गर्ने विकल्प पनि आयोगले विचार गरिरहेको छ।

त्यसैगरी, आवश्यक परे विशेष अदालतको अनुमति लिएर इन्टरपोल मार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाउन सकिने कानुनी बाटो पनि खुला रहेको बताइएको छ।

राहदानी छपाइ प्रकरणमा जर्मन कम्पनी भेरिडोससँग सम्बन्धित प्रतिनिधिहरू सहित राहदानी विभागका उच्च अधिकारीहरू पनि अनुसन्धानको दायरामा परेका छन्। हालसम्म केही अधिकारीहरू पक्राउ परिसकेको र थप व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार तत्कालीन परराष्ट्रमन्त्रीको प्रभावमा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको आशंका आयोगले गरेको छ। आगामी साताभित्रै मुद्दा अदालतमा दायर गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय