हेटौँडा,०५ असार । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडाले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूविरुद्ध विद्युत् आपूर्ति विच्छेद गर्ने अभियानलाई निरन्तरता दिएको छ।
कार्यालयका अनुसार बिहीबार मात्रै ५० वटा उद्योगको विद्युत् लाइन काटिएको थियो भने आज बिहान ६ बजेदेखि पनि थप उद्योगहरूको लाइन काट्ने काम जारी छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडाका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार बक्यौता तिर्ने उद्योगहरूको हकमा भने तुरुन्तै लाइन पुनः जडान गर्ने व्यवस्था गरिएको छ। बिहीबार मात्रै १२ वटा उद्योगको विद्युत् पुनः जडान गरिएको उनले जानकारी दिए।
कार्यालयका अनुसार हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका साना–ठूला गरी १३१ वटा उद्योगले विद्युत् बक्यौता तिर्न बाँकी छ। सबै बक्यौता नतिर्ने उद्योगहरूको लाइन क्रमशः काटिने स्पष्ट गरिएको छ।
उद्योगहरूको बक्यौता असुली र आर्थिक अनुशासन कायम गर्न अभियान कडाइका साथ अघि बढाइएको कार्यालयले जनाएको छ।




