रौतहट,०५ असार । चन्द्रपुर नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) र नगद रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
निराशकुमार सापकोटा लाई चन्द्रपुर नगरपालिका–६, डावरीटोलबाट बिहीबार राति शंकास्पद अवस्थामा फेला पारेर पक्राउ गरिएको हो। तलासीका क्रममा उनले बोकेको पर्सबाट कालो प्लास्टिकमा लुकाइएको २४० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट ३२ हजार २ सय ९० रुपैयाँ नगदसमेत फेला परेको छ।
प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा सापकोटाले सो लागुऔषध चन्द्रपुर–६, शान्तिनगरका विकास न्यौपाने बाट खरिद गरेको बताएका थिए। सोही आधारमा प्रहरीले न्यौपानेलाई पनि नियन्त्रणमा लिएको हो। न्यौपानेको साथबाट थप २२ हजार ३ सय रुपैयाँ नगद बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट का अनुसार दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




