अतिरिक्त शुल्क लिएकाे विरोधमा उत्रिएका विद्यार्थी र कलेज प्रशासनबीच झडप

spot_img

काठमाडाैँ,१० माघ । नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क लिएपछि त्यसको विरोधमा उत्रिएका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच झडप भएको छ । नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएपछि विभिन्न राजनीतिक संगठनसहित विद्यार्थीहरूले आन्दोलन गर्दैआएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङको सहयोगमा पीडित विद्यार्थीहरूले स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्दै सोमबार सिटी जुलुस प्रदर्शन गरेका थिए ।

जुलुस प्रदर्शन गर्ने क्रममा आन्दोलनरत विद्यार्थीहरूले तालाबन्दी गरेको कलेज प्रशासनमा कर्मचारीहरूले काम गरिरहेको र भारतीय विद्यार्थी, छात्रवृत्ति र अतिरिक्त शुल्क तिरेका विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गरिरहेको देखेपछि विरोव जनाउँदा झडप भएको हो ।

सुरक्षा गार्डहरूले विद्यार्थीहरूलाई भाटाले प्रहार गर्दा टाउको फुटेको, आँखा, हातखुट्टामा चोट लागेको पीडित विद्यार्थीहरूले गुनासो गरेका छन्। सुरक्षा गार्डको आक्रमणबाट जोगिँदै कलेज प्रशासन कार्यालय पुगेका विद्यार्थीहरूले भित्र कर्मचारीले नर्सिङ डिपार्टमेन्टबाट पसेर काम गरिरहेको देखेपछि तोडफोड गरेका छन् ।

विद्यार्थीहरूले प्रशासन फाँटको दुई वटा कम्प्युटर, प्रिन्टर, झ्याल, ढोकाको सिसा फुटाएको कलेज प्रशासनले आरोप लगाएको छ । विद्यार्थी र सुरक्षा गार्टबीच भएको झडपको क्रममा नोबेल अस्पतालको औषधि पसलमा समेत तोडफोड भएको छ ।

विद्यार्थीहरूमाथि सुरक्षा गार्डले आक्रमण गरिरहँदा सुरक्षाकर्मीहरू भने मुकदर्शक बनेका थिए । सुरक्षाकर्मीको व्यवहारले स्थानीय प्रशासनले नोबेल मेडिकल कलेजलाई संरक्षण गरिरहेको अनुभूति भएको आन्दोलनरत विद्यार्थीहरूले गुनासो गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले भने एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय