काठमाडाैँ,११ माघ । सरकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरूमा एकद्वार प्रणाली अनलाइन पूर्ण रूपमा लागू गर्ने भएको छ ।
सरकारले विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरूमा अनलाइन प्रणाली पूर्ण रूपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए ।
महानिर्देशक सापकोटाले भन्सार नाकामा व्यापारलाई सहजीकरण गर्ने काम गरिरहेकाले यसलाई थप व्यवस्थित बनाउन अनलाइन प्रणाली लागू गर्न लागेको बताए । भन्सारमा एकद्वार प्रणाली लागू भएसँगै व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान हुने उनको भनाइ छ ।
भन्सार विभागले व्यापारलाई सहजीकरण मात्रै नभएर निर्यातलाई पनि प्रवर्द्धनसमेत गर्दै आएको भन्दै उनले निजीक्षेत्रको मागअनुसार निर्यात प्रवर्द्धन गर्न नाकाहरूमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन व्यवस्था आवश्यक रहेको बताए । उनले व्यवसायीले भनेजस्तो भन्सारमा आयात भएको वस्तुको मूल्याङ्कन हचुवाको भरमा नभएको बताए । भन्सारले राजस्व उठाउने मात्रै नभएर भन्सार सहजीकरणलाई व्यवस्थित गर्ने काम गर्ने बताए ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोसेढुङगा सावित हुने बताए । उनले सरकारले भन्सारमा व्यवसायीहरूले भोग्दै आएको विभिन्न झमेला कम गर्नकै लागि भन्सारमा एकद्वार प्रणाली लागू गरेको बताए ।

