21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

चुनावको जय होस्, विश्वकपको विजय होस्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चुनाव एउटा खेल हो । यो केवल उम्मेदवारको जितहारसँग होइन, हाम्रो मनोविज्ञानसँग समेत जोडिएको छ । जस्तो कि फुटबलमा निश्चित खेलाडीहरु खेल्छन्, तर हामी दर्शकदीर्घाबाट ‘यसरी हान्, उसरी नहान्’ भन्दै सुझाव दिइरहेका हुन्छौं । हाम्रा व्यक्तिगत जीवनका असफलता या अपूर्णतालाई कुनै खेलाडीको करिश्मासँग जोड्न पाएकामा तृप्त हुन्छाैं । पेले, म्याराडोना,मेस्सी या रोनाल्डोका ‘जादु’मा हामी आफ्नाे साधारणपनालाई सपनामय बनाउँछाैं ।

- Advertisement -

चार मंसिर दिउँसोको चुनाव हाम्रा लागि राष्ट्रिय चाड हो, चार मंसिर साँझ सुरु हुने विश्वकप फुटबल चाहिँ अन्तर्राष्ट्रिय चाड । दशैंमा टीका थाप्न बस्दा लुगा नफेर्नेले समेत विश्वकपका लागि जर्सी किनिसकेको हुन्छ ।

लोकतन्त्रको उत्सव भनेर मनाउँदै आएको राष्ट्रिय चाड चुनावसँग मतदाता यति निष्पृह भइसकेछन् कि पहिले जित्ने सांसद फेरि उम्मेदवार भएर आउँदा ‘अहिलेसम्म के-के गरियो’ भनेर सोध्ने जाँगरसमेत छैन । त्यस अर्थमा विचारभन्दा माथि देश भनेर हिजोआज चर्चा चलेको पनि ठिकै छ । किनभने हामीले विचारभन्दा माथि पार्टी भन्दै आयौं । नेता पनि मान्छे नै हो, उसले गल्ती गर्न सक्छ भनेर हामीले विचारै गरेनौं ।

चार वर्षअघिको कुनै देश यसबीचमा खेलस्तर कमजोर बनाएर विश्वकपमा जाँदा पनि पुरानै जर्सी धोएर हामी टिभी स्क्रिन अगाडि बस्छौं । हामीलाई सुरु-सुरुमा निश्चित खेलाडी या टिमप्रति लगाव हुन्छ । पछिपछि आफूले रुपियाँ तिरेर खरिद गरेको जर्सीप्रति । हामी सुरुमा प्रेम गर्छौं । बिस्तारै त्यसमा बानी पर्छौं । अघिल्लो विश्वकपका बेला अर्जेन्टिनाले जितोस् भनेर घरैमा पूजा लगाउनेदेखि यज्ञ नै चलाउनेसम्म देखिए ।

आम मानिसहरुको यही  भावनाउपर दलहरुले चुनावी रणनीति बनाउँछन् । हामी कसैका लागि जित्छौं, कसैका लागि हार्छौं । कुनै उम्मेदवारले हारेर माला फालिसक्दा, अनि हारेको खेलाडीले मैदानबाट उठेर धुलो टक्टक्याइसक्दा पनि हामी माला फाल्न तयारै हुँदैनौं । जर्सी फुकाल्न तयारै हुँदैनौं । त्यसो गर्न हाम्रो ‘अल्टर इगो’ ले दिँदैन ।

फुटबल (क्रिकेट र अरु खेल पनि भन्न सकिन्छ, तर सन्दर्भ कतार विश्वकपको छ) र चुनावबीच अर्को समानता पनि छ । यसमा उम्मेदवार र दल अर्थात् देश र टिमले मात्रै खर्च गर्दैनन् । लाखौं बाजी खेल्ने ठूला सट्टेबाजदेखि गाउँघरमा २० रुपियाँ बाजी राख्नेसम्म एकैपल्ट सक्रिय हुन्छ । लाग्छ, खुसीको कुनै वर्ग हुँदैन ।

चुनावमा पनि यस्तो हुन्छ । अस्तिको स्थानीय चुनावमा बालेनले जित्छन् कि जित्दैनन् भन्नेमा २८ किलोको खसी बाजी राख्ने ओखलढुंगाका दुई युवालाई पुलिस नै समात्न गएको थियो । त्यसपछि के भो भन्ने थाहा छैन । मेरो मतलब ती युवाहरुको के भो होइन, खसीको के भो भन्ने केही थाहा छैन ।

म्याराडोनादेखि बाटिस्टुटाको पालासम्म आइपुग्दा अर्जेन्टिना एउटै देश हो, तर एउटै टिम होइन । प्रशिक्षक नै यसबीचमा कति फेरिइसके, अनि खेलाडीले दक्षिण अमेरिकी शैली छाडेर युरोपेली फुटबल बजारमा पस्दा पश्चिमाकेन्द्रित ‘ग्लोबल ट्रेन्ड’ कति पछ्याइसके ।

लियोनेल मेसीसम्म आइपुग्दा ‘जिते अर्जेन्टिना, हारे क्याटलान’ भन्ने किसिमको रंगभेदले समेत प्रवेश पाइसक्यो । नेपालीहरुलाई अर्जेन्टिनासँग अतिरिक्त लगाव भएकाले यो चर्चा गर्दैछु ।

तर हामी अर्जेन्टिनाका मायालु नेपाली त्यस देशको जर्सी फुकाल्ने कल्पनै गर्दैनौं । बरु पुट्ट भुँडी लागिसक्दा पनि मैदानमा गएर कसरतमा नउफ्रिएका होलाउँ, विश्वकपका लागि भने होम र अवे दुवै डिजाइनका जर्सी किनेर राख्दैछौं । या भनौं, अर्डर गर्दै होलाउँ । (याद रहोस्, म जर्मनीको समर्थक हुँ । मसँग जर्मनीको टिसर्ट छ । अर्जेन्टिनासँग मेरो कुनै रिसराग छैन ।)

चुनावमा पनि हामी यस्तै छौं । चार वर्ष ११ महिनासम्म (नेपालमा हिजोआज समयमै चुनाव हुन्छ । ओली बाले चाहेजस्तो भएको भए तोकिएभन्दा छिटो हुने खतरा पनि थियो । तर यसमा सम्मानित अदालतको कुनै दोष छैन), अँ म भन्दैथिएँ, चार वर्ष ११ महिनासम्म हामी नेताले यो गरेन, त्यो गरेन भनेर टेबुल ठोक्छौं ।

आफ्नै टेबुल, किनभने विजयी उम्मेदवारसँग हाम्रो भेट आफैंमा बेलाबखतको उत्सव हो । पाँचौं वर्षको बाह्रौं महिनामा भने हामी पुरानै जर्सी धोइपखाली लगाउँदै प्रचारमा हिँडिहाल्छौं । अर्जेन्टिना जिन्दावाद, ब्राजिल मुर्दावाद ।

सम्भवतः हाम्रो यही स्थिर (जडवत् भन्दिए पनि हुन्छ) मनोविज्ञान बुझेर एकजना उच्च पदीय नेताले अब नेपालमा दुईदलीय प्रणाली भए उत्तम भन्ने किसिमको भाष्य निर्माण गर्न खोजेका थिए । अन्य कुरा यथावत् रहेमा यसपल्ट अर्जेन्टिना, ब्राजिलमात्रै होइन, फ्रान्स, जर्मनीहरु पनि मास्तिर आउन सक्छन् ।

फ्रान्सलाई किन कम आँक्ने र ? ऊ त अघिल्लोपल्टको विश्वकप विजेता टोली नै भइहाल्यो । कहिलेकाही इटलीजस्ता सर्वकालीन शक्तिमानहरु समेत किनारा लाग्छन् । जस्तो कि यसपल्ट हामीले कतार विश्वकप फुटबलको मैदानमा उसलाई देख्न पाउने छैनौं ।

विश्वकप फुटबलले यी कांग्रेस, एमाले, माओवादी टाइपका ठूला पार्टीहरुको दबदबाबीच सेनेगल, कोरिया, टर्की, बुल्गेरिया जस्ता देशलाई फुत्त सेमिफाइनलसम्म उकाल्दिन पनि सक्छ । थ्रेसहोल्ड काट्ने दलको सूचीमा नयाँ दलको इन्ट्री भयो भने किन्चित आश्चर्य मान्नुपर्ने छैन ।

चुनावले अरविन्द केजरीवाल, महुवा मोइत्रा (नेपालीको नाम नलिउँ, मौन अवधि छ) जस्तालाई माथि ल्याउन पनि सक्छ । फरक यत्ति हो, फुटबलमा दर्शकले जर्सी लगाएर हुन्न, खेलाडीले आफैं खेल्नुपर्छ । चुनावमा उम्मेदवारले मात्रै जर्सी लगाएर हुन्न, हजारौं मानिसहरु एकैपटक विचारशील या मुर्ख बन्न तयार हुनुपर्छ ।

सांसद विकास कोष भनेर चिनिने ‘स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम’ खारेज भइसकेको छ । अब त झन् हामीलाई कुनै उम्मेदवारले केही देला भन्ने बचेखुचेको अपेक्षासमेत जीवित छैन ।

यति हुँदाहुँदै पनि उम्मेदवारले विकासका ठूला बाचाहरु भने गर्नैपर्छ, जस्तो कि फुटबल म्याच अगाडि खेलाडीले राष्ट्रिय गान, वा धर्मपिच्छेका लामा-पुरोहितले निश्चित मन्त्र पढ्नुपर्छ । उम्मेदवारले बाटो, बिजुली, पानी, स्वास्थ्य चौकीको मन्त्र फररर पढ्छ । हामी बुझे पनि नबुझे पनि जल चढाउँछौं वा चरु पोल्छौं । आ-आफ्ना धर्म संस्कार अनुसारका कर्मकाण्ड पूरा गर्न सकेकामा हामी आफैंसँग खुसी हुन्छौं ।

झण्डा छाप्नेको पनि आफ्नै अर्थशास्त्र छ । यो राजनीतिक आस्थासँग मात्र शुद्ध सरोकार भएको मामिला होइन । कांग्रेस, एमाले, माओवादी, नेमकिपादेखि राष्ट्रिय स्वतन्त्र पार्टीसम्मका सबै झण्डा पसलेले एकै लटमा छापेर बेच्छ ।

फलानो पार्टीको झण्डा छाप्छु, अर्को पार्टीको छाप्दिनँ भनेर भावुक बन्न थाल्यो भने उसको व्यापार नै हुँदैन । नेदरल्यान्डदेखि स्पेनसम्मको, इङल्यान्डदेखि पोर्चुगलसम्मको जर्सी एकैपल्ट बेचेर ऊ व्यवसाय उकास्छ । व्यापारमा नाफा हुन्छ, भावना हुँदैन । तर हामी फ्यान भने आफूलाई चाहिएको झण्डा या जर्सी किनेर मख्ख पर्छौं ।

मन परेको टिमको जर्सीका लागि के छुट मागिबस्नु ! पशुपतिनाथमा चढाउन लैजाने फूलपाती र नरिवलमा पनि कसैले डिस्काउन्ट माग्छ र ? हामी पूरा अंकित मूल्य तिरेर जर्सी किन्छौं ।

मन परेको टिमले गोल हान्यो भने पलङ कुर्सी हल्लिने गरी उफ्रिन्छौं । टिमले हार्‍यो भने दुःखी हुन्छौं । उस्तै परे रुन्छौं । नेपालीले व्यक्त गर्ने अधिकतम दुःख भनेकै रुने हो । भारत, बंगलादेशतिर भएको भए टिभी फोड्ने इधरउधर न्युज आइसक्छ ।

चुनावमा पनि आफूले भोट हालेको नेताले जित्यो भने खसी, सुँगुर काट्न थाल्छौं । हार्‍यो भने विपक्षीको जुलुसले देख्नेगरी धारे हात लगाउँछौं । पार्टी नमिलेको छिमेकीसँग अकारण बाझ्न थाल्छौं । हाम्रो बफादारिताको निशाना हामीले घरको धुरीमा देखिनेगरी गाडिने झण्डा हुन् ।

जसरी चुनाव प्रचारको मन्चमा काठदेखि बाँससम्म जोडेर खाँबाखुट्टा जोड्ने कार्यकर्ताले भाषण गर्न पाउँदैन, त्यसैगरी कतार विश्वकको प्यारापिटदेखि गोलपोस्टसम्म सबै बनाउने नेपाली मजदुरले खेल हेर्न पाउँदैनन् ।

मन्चमा बोल्न नपाएर, अथवा खेल हेर्न नपाएर के भो ! उसले मोबाइलमै भिडियो हेरेर भए पनि खुसी त साटिरहेकै हुन्छ । यो विन्दूनेर भने खुसीको वर्ग हुन्छ भनेर मान्न हामीलाई कर लाग्छ ।

चुनाव सकिँदा कुनै उम्मेदवार या दलले जित्छ । खेल सकिँदा कुनै देशले (अरु बेला क्लबसमेत) ले जित्छ । उसको विजयमा हामी आफैंले आफैंलाई माला लगाइदिन्छौं । जर्सीलाई प्रेमले सुम्सुम्याउँदै धोइपखाली इस्त्री लगाएर पट्याउँछौं ।

अर्को चुनाव या खेल नआउँदासम्म त्यसलाई कपुर राखेर सुरक्षित थन्क्याउँछौं । त्यो जर्सी हाम्रो झण्डा, ब्यानर हो । संयोगले एकै दिन सुरु हुने चुनाव र विश्वकप फुटबलले हामीलाई यस्तरी एकैपल्ट जोडेको छ । लाग्छ, फुटबलको आयोजक फिफा होइन हामी हौं । चुनावको आयोजक निर्वाचन आयोग होइन, हामी आफैं हौं ।

चुनावको जय होस् । विश्वकपको जय होस् । मौन अवधिमा योभन्दा बढी के भन्नु ?

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -