फागुन,६ मा शनिवार आयोजना हुन गइरहेकाे महाशिवरात्रिमा पशुपति क्षेत्रमा ठुला सवारीलाई प्रवेश निषेध गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार मध्यरातबाट नै ठुला सवारी साधन सो क्षेत्रमा प्रवेश गर्न नदिनेगरी ट्राफिक ‘व्यवस्थापन योजना’ बनाएको छ ।
शुक्रवार राति १२ देखि शनिवार साँझ ६ बजेसम्म ६ पाङ्ग्रे र मालवाहक सवारी साधनलाई पशुपति क्षेत्रमा प्रवेश गर्न नदिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । भट्ट भन्छन्,‘ठुला सवारीलाई चाबहिल, कोटेश्वर र तीनकुनेमा रोक्छौं ।’
ट्राफिक प्रहरीले पशुपतिमा दर्शन गर्नेहरूको चाप हेरेर पहिलो चरणमा सिनामंगल, पुरानोबानेश्वर, रातोपुल र मित्रपार्क क्षेत्रबाट सवारी डाइभर्सन गर्ने भएको छ । दर्शनार्थीको चाप बढेपछि चाबहिलबाट गौशालातर्फ र पुरानोबानेश्वरबाट गौशाला आउने सवारीलाई निषेध गर्ने निर्णय गरिएको छ । ‘करिब १२ स्थानबाट गौशालामा आउने सवारी साधनलाई डाइभर्सन गर्छौं’ एसएसपी भट्ट भन्छन्,‘ज्ञानेश्वर, द्वारिका होटल, सिफल चौर र लामापोखरी हुँदै गौशाला आउने सवारीलाई डाइभर्सन गर्छौं ।’

गौरिघाटबाट उमाकुण्ड र मित्रपार्क तिर जाने सवारीसाधन र तिलगंगाबाट गौशाला जाने सवारीलाई आवागमनमा निषेध गरिने छ । मालबाहक सवारी सधान तिनुकनेबाट सिनामंगलतिर जान पाउँदैनन् । सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्कने मार्गमा पनि सवारी चल्न नदिने गरि कार्ययोजना तयार गरिएको छ ।
जोरपाटी, बौद्धबाट आउने मालवाहक सवारी साधनलाई चुच्चेपाटीबाट चावलिह तर्फ डाइभर्सन गरिने भएको छ ।
रत्नपार्कबाट चल्ने बस र माइक्रोबसहरु तिलगंगा पुगेपछि सोही रुटबाट फिर्ता हुनुपर्ने छ । रत्नपार्कबाट लाजिम्पाट हुँदै साँखु जाने बस र माइक्रोबस त्यहि बाटोबाट फर्किनेगरी कार्ययोजना स्वीकृत गरिएको एसएसपी भट्टले जानकारी दिए । उनले भने,‘कालापुल हुँदै कपन चल्ने सवारी साधनहरु खानीविभाग हुँदै महराजगञ्जबाट चल्न पाउँछन् ।’
सुन्धाराबाट बौद्ध चल्ने माईक्रोबस र टेम्पोहरु कृष्णपाउरोटी बाट नक्साल हुँदै चाबहिल गणेशस्थान निस्कनुपर्ने छ । जोरपाटीबाट सुन्धारा आउने माईक्रोबस र टेम्पोहरु नारायणगोपाल चोक हुँदै केशरमहलबाट चल्न पाउनेछन् ।
जोरपाटीबाट महाराजगञ्ज जाने मालवाहक सवारीसाधनलाई चुच्चेपाटीबाट भृकुटीचोक हुँदै सुकेधारा तर्फ डाइभर्सन गरिएको छ । कोटेश्वरबाट सुकेधारा जानुपर्ने मालवाहक सवारी सातदोवाटो र कलंकी घुमेर जानुपर्नेछ । कोटेश्वरबाट पशुपति वरपर जानुपर्ने मालवाहक सवारीलाई शिवरात्रीको मेला अवधिभर तीनकुनेमा होल्ड गरिने एसएसपी भट्टले बताए ।