जनकपुरधाम, ६ बैशाख । मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई महालेखापरीक्षकको कार्यालयले प्रदेशको आर्थिक वर्ष २०७८/७९ को पाँचौ वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

नेपालको संविधानको धारा २४१ बमोजिम प्रदेशको लेखापरीक्षण सम्पन्न गरी धारा २९४ को उपधारा (३) बमोजिम महालेखापरीक्षकबाट तयार गरिएको पाँचौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मिश्रसमक्ष पेश गरिएको हो ।
प्रदेश प्रमुख मिश्रले प्रतिवेदन ग्रहण गर्दै साधन स्रोतको अधिकतम उपयोग गरी बेरुजु घटाउन महालेखापरीक्षकको कार्यालयले थप भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।उनले वर्तमान अवस्थामा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै आम्दानी सम्बन्धमा स्पष्ट उल्लेख गर्नुपर्ने धारणा राखे । प्रदेश प्रमुख मिश्रले प्राप्त प्रतिवेदन मुख्यमन्त्रीमार्फत प्रदेशसभा तथा समितिमा बुझाइ बेरुजु घटाउने सम्बन्धमा आवश्यक छलफल हुने विश्वास व्यक्त गरे ।
नायव महालेखापरीक्षक रवीन्द्र प्रसाद देवकोटाले प्रदेश वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सवल बनाउन अनुगमन, मूल्याङकन, जिम्मेवारी तथा जवाफदेहिता पालना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए ।
महालेखापरीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरुजू २.६९ प्रतिशत रहेको छ । यस प्रदेशका १४८ कार्यालय/संस्थाको ४३ अर्ब १० करोड ४३ लाखको लेखापरीक्षण भएकोमा १ अर्ब १६ करोड ३३ लाख बेरुजू देखिएको हो ।

