सिरहा,१४ वैशाख । सामान्य वर्षा भए पनि सिरहा नगरपालिका–२ अन्तर्गत लक्ष्मीचोक क्षेत्र जलमग्न हुँदा स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ।
चोहर्वा–सिरहा सडकखण्डमा पर्ने उक्त क्षेत्रमा गएरातिदेखि परेको वर्षाका कारण सडकमै पानी जम्दा केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा करिब २९.२ मिलिमिटर मात्र वर्षा भए पनि निकास नहुँदा समस्या बढेको हो।
पानी निकासको उचित व्यवस्था नभएपछि स्थानीयले आफैं अस्थायी रूपमा नाला बनाएर पानी हटाउन प्रयास गरेका थिए। स्थानीय राजकिशोर साहका अनुसार “सामान्य वर्षामै घरअगाडि पानी जम्ने भएकाले बाहिर निस्कनै गाह्रो हुन्छ,” जसले विद्यार्थी र सर्वसाधारणलाई समस्या पारेको छ।
अर्का स्थानीय ललित साहले पनि सडक नै नदेखिने गरी पानी जम्दा दैनिक कामकाज प्रभावित भएको बताए। मजदुर, व्यापारी र विद्यार्थी सबैलाई आवतजावतमा कठिनाइ भएको उनको भनाइ छ।
वडा अध्यक्ष राकेश यादवले समस्या समाधानका लागि पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायबाट बेवास्ता भएको गुनासो गरे।
यता, सडक डिभिजन कार्यालय लहानका इन्जिनियर अस्विन यादवका अनुसार नालाको सतह सडकभन्दा माथि भएका कारण पानी नालामा नपसी सडकमै जम्ने समस्या देखिएको हो। उनले दीर्घकालीन समाधानका लागि सडक स्तरोन्नतिको तयारी भइरहेको बताए।
उक्त क्षेत्रमा करिब ८ करोड रुपैयाँ खर्चेर नाला निर्माण गरिएको भए पनि संरचनागत कमजोरीका कारण समस्या झन् बढेको स्थानीयको आरोप छ। उनीहरूले तत्काल सुधार र दीर्घकालीन समाधानको माग गरेका छन्।

