जनकपुरधाम,साउन २२ ।
साउन महिनाका सोमबारका दिन महादेवलाई अत्यन्तै श्रद्धाभाव राखी भक्तजनले मान्ने गर्छन् र साउनभरि नै महादेवको मन्दिरमा भक्तजनको ठूलै भीड लागि रहन्छ । यस्तै भीड जनकपुरधामको वडा नम्वर १६ कपिलेश्वरमा रहेको कपिलेश्वरनाथ मन्दिरमा पनि देखिएको छ ।

कपिलेश्वर नाथ महादेवको मन्दिर जनकपुरधामको रेल्वेलाइन भन्दा दक्षिणमा अवस्थित छ । गुम्बा जस्तै देखिने यो शिखर शैलीको मन्दिर छ ।
धार्मिक ग्रन्थहरुका अनुसार जनकवंशीय राजा शिरध्वजले जनकपुरको चारै दिशामा महादेवको स्थापना गरेका थिए । ती चार महादेवहरु मध्ये कपिलेश्वरनाथ पनि एक हो । कपिल मुनीको आश्रम समेत यहीँ रहेको मान्यता छ ।
मन्दिर परिसरको चारैतिर स–साना मन्दिरहरु बनाएर त्यसमा भगवानका प्रतिमाहरु स्थापित गरिएका छन । मन्दिरको उत्तर पूर्वमा संतोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा राम जानमी, पश्चिममा शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजीको प्रतिमा स्थापना गरिएको छ ।
मन्दिर परिसर ५ कठामा फैलिएको छ । यो मन्दिर गुठी अधिनस्थ रहेको छ । मन्दिरमा साउनमा महिनामा तथा शिवरात्रीका दिन ठूलै मेला लाग्ने गर्छ । यहाँ दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गर्छ ।
कपिलेश्वर युवा कमिटीका अध्यक्ष मनोजकुमार साहले कपिलेश्वरनाथ मन्दिरमा पहिलादेखि नै भीड हुनेगरेको छ केही वर्ष यता जानकी मन्दिर दर्शनका लागि आउने पर्यटकहरु पनि कपिलेश्वरनाथ आउने गरेको वताए । कमिटीले सजावटदेखि स्वयंसेवकको व्यवस्थापन गर्ने गर्छन् ।
महादेवलाई अत्यन्तै मनपर्ने महिना साउन । रातो सारी र हरियो चुरा लगाई समूह–समूह बनाई महिलाहरू महादेवको मन्दिरमा जाने गर्छन् । एक किसिमले वातावरण नै रमाइलो पार्दै महिलाको भीड लागिरहेको हुन्छ, महादेवको मन्दिर र बाटोमा । महादेवको प्रिय साउनमा महादेवको व्रत बस्ने चलन छ, नसक्नेहरूले सोमबार मात्र व्रत बस्ने गर्छन्। जसले विधिपूर्वक महादेवको व्रत बस्छ, ऊ अपुत्र भए पुत्र प्राप्त गर्र्न सक्षम हुन्छ, निर्धन भए धनवान् हुन्छ, अविद्या भएकी भए विद्या प्राप्त गर्न सक्षम हुन्छ, अनि समाजमा बुद्धिमती भई प्रसिद्ध हुन्छे भन्ने जनविश्वास छ । धनुषाको सदरमुकाम जनकपुरधाममा रहेको प्रसिद्ध कपिलेश्वरनाथ महादेव मन्दिर समेत ख्याती एवं ऐतिहासिकताको हिसाबले प्रसिद्ध मन्दिर हो । ‘हामी अहिले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गरिरहेको, जनकपुरधाम १६ का वडाध्यक्ष रामचन्द्र पंजियारले वताए ।
‘जलधारा शिवप्रिय’ अर्थात् शिवलाई जलधारा मन पर्छ । यसै कारण शिवलाई अखण्ड जलधारा चढाएर वा जलाभिषेक गरेर प्रसन्न तुल्याउने प्रयास गरिन्छ । अभिषेक गर्दा पनि शिवलाई जल, दूध, दही, घिउ, सख्खर, मह, उखुको रस आदिले स्नान गराइन्छ । विशेष चाहना हुनेले सोहीअनुसार विशेष वस्तुले रुद्राभिषेक गर्ने विधान पाइन्छ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले वताए ।
शतरुद्रीय मन्त्रपाठ गरेर अविरल पञ्चामृतमिश्रित जलधारा लगाएर रुद्री गर्ने चलन नेपालमा निकै प्रचलित छ । अभिषेकपछि वस्त्र पहिराएर पञ्चोपचार, षोडषोपचार आदि रीतिले पूजा र प्रार्थना गरिन्छ । आशुतोष शिवलाई बेलपत्र, समीपत्र, दूबो, कुश, कमल, नीलकमल, आँक मन्दार, जाईजस्ता फूल चढाएर खुसी पारिन्छ । यसका साथै भोगको रूपमा धतूरो, भाङ, नरिवल आदि चढाइन्छ । भगवान शिवलाई प्रसन्न पार्नका लागि बेलपत्र र समीपत्र चढाइन्छ । एक पौराणिक कथा अनुसार जब डेढ हजार ऋषिहरूले महादेवलाई कसरी प्रसन्न तुल्याउन सकिन्छ भनेर परमपिता ब्रह्मासँग सोधे, त्यतिबेला ब्रह्माले भनेका थिए– महादेव सयवटा कमल चढाउँदा जति खुसी हुन्छन् त्यति एक नीलकमल चढाउँदा हुन्छन् । त्यस्तै एक हजार नीलकमल बराबर एक बेलपत्र र एक हजार बेलपत्र बराबर एक समीपत्रको महत्व हुन्छ ।

