१३ वैशाख, काठमाडौं । अमेरिकामा ‘टिकटक’बारे नयाँ कानुन जारी भएको छ । राष्ट्रपति ‘जो बाइडेन’ले संसदको दुवै सदनले पारित गरेको एक कानुनमा हस्ताक्षर गरेसँगै ‘टिकटक’ सम्बन्धी नयाँ कानुन लागु भएको छ ।
अब ‘टिकटक’को मूल कम्पनी बाइट डान्सलाई अमेरिकामा आफ्नो कम्पनीको शेयर बेच्न करिब एक बर्षको समय पाउने छ । सो समयभित्र ‘टिकटक’को स्वामित्व चिनियाँ लगानी कर्ताबाट अमेरिकी लगानीकर्तामा नसारेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुने छ ।
यता ‘टिकटक’ले भने अमेरिकी नयाँ कानुनलाई चुनौती दिने बताएको छ ।
अमेरिकाले ‘टिकटक’ले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो । तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ ।
‘टिकटक’का विश्वमै सबैभन्दा बढी प्रयोगकर्ता अमेरिकामा रहेका छन् । अमेरिकामा १७० मिलियन भन्दा बढीले ‘टिकटक’को प्रयोग गरिरहेका छन् ।

