वीरगन्ज, १७ असाेज । वीरगन्ज, १७ असोज । विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस बर्ष लाग्ने पञ्चवर्षीय मेलाको आज शोभा यात्रा निकालिएको छ । बाराको महागढीमाई नगरपालिका बरियारपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणबाट शोभायात्रा निकालिएको हो ।
आगामी मङ्सिरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलाका लागि बिहीबार बिहानदेखि भव्य शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समिति अध्यक्ष उपेन्द्र प्रसाद यादवले एनपीडीलाई जानकारी दिएको छ ।
शोभा यात्रा अहिले जिल्लाका विभिन्न ठाउँमा परिक्रममा गरिरहेको मेला समितिले जनाएको छ । हात्ती, घोडा उँट, झाकी, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरू सहितको शोभा यात्रा निकालिएको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष यादवले जानकारी दिएको छ ।
यात्रामा ५० हजार भक्तजनहरूको सहभागिता रहेको समितिका अध्यक्ष यादवले बताए । उनका अनुसार मन्दिर परिसरबाट निस्किएको शोभायात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको २० किलोमिटर परिक्रमा गरेका छन्र ।
यात्रा बरियारपुर गाउँ हुँदै इनरुवा चोक, तेलकुवाचोक देखि नहर हुँदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोक, गुप्ता पेट्रोल पम्प, अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापन हुने मेला आयोजक समितिले जनाएको छ ।




