बाराको महागढीमाई नगरपालिकामा अवस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा यस दसैंमा मात्रै करिब ९ लाख ६६ हजार रुपैयाँ नगद भेटी संकलन भएको छ। दसैंको घटस्थापनादेखि कात्तिक १३ गतेसम्म मन्दिर परिसरमा राखिएका चार दानपेटिकाबाट ७ लाख ३५ हजार ३४१ रुपैयाँ संकलन भएको छ भने, नदी रसिदबाट २ लाख ३१ हजार ७२ रुपैयाँ थपिएको छ।
यसबाहेक, दानपेटिकाबाट पाँच वटा सुनका तिलहरीसहित सात थान सुनका गहना र २६ थान चाँदीका गहना पनि भेटीमा प्राप्त भएको जानकारी महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले दिएका छन्।
मेयर यादव र गढीमाई विकास समितिका पदाधिकारीहरूको उपस्थितिमा दर्शनार्थीहरूले चढाएको भेटीको गणना गरिएको थियो। संकलित नगद र गहनाहरू गढीमाई विकास समितिको कोषमा जम्मा गरिने भएको छ।




