वर्ल्डलिंकमा फिनल्याण्डको सरकारी कम्पनी फिनफण्डको १ करोड युरो लगानी

spot_img

काठमाडौँ, १३ मसिर । नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वर्ल्डलिंकले जनाएको छ ।

‘वर्ल्डलिंक नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ,’ किल्पेलेइनले भने, ‘फिनिश लगानीकर्ता भएकोले, हामी पक्कै पनि वर्ल्डलिंकले आफ्नो इन्टरनेट सेवाहरू विस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौँ ।’

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरुका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ ।

डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको विस्तारले वर्ल्डलिंकका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्ने विश्वास लिइएको छ। ‘फिनफण्ड डाटा केन्द्र निर्माणको क्रममा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा वर्ल्डलिंकलाई सहयोग गर्न तत्पर छ,’ किल्पेलेइनले जोड दिए ।

‘फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हाम्रो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्वस्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले शहर र ग्रामीण भेगबीचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौँ ।’

कम्पनीका अनुसार देशकै सबैभन्दा ठूलो नेटवर्क प्रदायकसमेत रहेको वर्ल्डलिंकले ५ हजारभन्दा बढी मानिसहरूलाई रोजगारी प्रदान गरेको छ। कम्पनीले नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार साझेदारीसहित ९ लाखभन्दा बढी घरपरिवारमा पहुँच प्रदान गरेको जनाएको छ। हाल नेपालको ७७ जिल्ला मध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको वर्ल्डलिंकको भनाइ छ ।

यस्तै, फिनल्याण्ड सरकारको अधिनमा रहेको फिनफण्ड एक विकास क्षेत्रको लगानीकर्ता र प्रभाव पार्ने लगानीकर्ता हो। यसले दिगो भविष्य निर्माण गर्न र विश्वव्यापी विकास चुनौतीहरू समाधान गर्ने व्यवसायहरूमा लगानी गरेर दिगो प्रभाव उत्पन्न गर्दछ ।

फिनफण्डले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा सञ्चालित व्यवसायहरूलाई जोखिम पुँजी, दीर्घकालीन लगानी ऋण, मेजानाइन वित्तपोषण र विकासशील बजारहरूमा कसरी लगानी गर्ने भन्नेबारे विशेषज्ञता प्रदान गर्दछ। फिनफण्डले ओईसीडीरडीएसीद्वारा परिभाषित विकासोन्मुख देशहरूमा मात्र लगानी गर्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय