बारा, १८ मंसिर। बाराको महागढीमाई नगरपालिका अन्तर्गत बरियारपुरस्थित गढीमाई पञ्चवर्षीय मेलामा यस वर्ष विशेष भव्यता थपिएको छ। मन्दिर परिसर र मेलाको मुख्य भागमा आकर्षक लाइटिङ र झिलिमिली झालरहरूले मेलाको सौन्दर्य झनै मनमोहक बनाएको छ। मेलाका प्रवक्ता सोनालाल कुशवाहाका अनुसार मन्दिर क्षेत्र, मुख्य मेला स्थल, बाटोका दुबै छेउका रुखहरू, र बिजुलीका खम्बाहरूमा विशेष लाइटको सजावट गरिएको छ, जसले मेलामा आएका दर्शनार्थीहरूको मन लोभ्याएको छ।
मेलालाई प्रविधि–मैत्री बनाउनका लागि फ्रि वाईफाई जोन घोषणा गरिएको छ भने सम्पूर्ण मेला क्षेत्रलाई सिसिटिभी निगरानीमा राखिएको छ। मेला व्यवस्थापन समितिका महासचिव बिरेन्द्र यादवका अनुसार मेलामा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा निगरानी भइरहेको छ। सिसिटिभीको फुटेज मार्फत हरेक क्रियाकलापलाई नजिकबाट हेर्ने व्यवस्था गरिएको छ।
सुरक्षाका लागि विशेष प्रबन्ध गरिएको छ। मन्दिर परिसरको सुरक्षा नेपाली सेनाले गरिरहेको छ भने नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्। सुरक्षाकर्मीलाई मेलाको अवधिमा कुनै गलत गतिविधि भेटिए तत्काल कारवाही गर्न निर्देशन दिइएको महासचिव यादवले बताए।
उपराष्ट्रपतिबाट उद्घाटन, आतिशबाजीले सुसज्जित उद्घाटन समारोह
मंसिर १ गतेदेखि सुरु भएको मेलामा १७ गतेदेखि भीडभाड बढ्न थालेको छ। सोमबार बिहान आयोजित विशेष समारोहका बीच मेलाको औपचारिक उद्घाटन नेपालका उपराष्ट्रपति रामसहाय यादवले गरेका थिए। सो अवसरमा मन्दिर परिसर नजिकै रहेको विवाह मण्डपबाट भव्य आतिशबाजी गरिएको थियो, जसले मेलाको आकर्षण थपेको थियो। उद्घाटन कार्यक्रममा महागढीमाई नगरपालिकाका मेयर एवं मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र यादवसहित स्थानीय जनप्रतिनिधि तथा भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
मेयर उपेन्द्र यादवले मेलामा मनोरञ्जनात्मक कार्यक्रमहरू, खेलतमासा, झुला, र स्टलहरू सबै सञ्चालनमा आएको जानकारी दिँदै, मेलामा सहभागी हुन भक्तजनहरूलाई हार्दिक स्वागत गरेका छन्।
भक्तजनको सुविधाका लागि उत्कृष्ट व्यवस्था
भक्तजनको सुविधाका लागि स–शुल्क पार्किङको व्यवस्था गरिएको छ। चारपांग्रे गाडी, मोटरसाइकल र साइकलका लागि मन्दिर नजिकै पार्किङ स्थल तोकिएको छ। रातिको समयमा मेलामा सहज घुमफिर गर्न पर्याप्त व्यवस्था मिलाइएको छ।
मनोरञ्जनका लागि झुला, मृत्युको कुवा, तथा अन्य खेलतमासा उचित मूल्यमा सञ्चालनमा रहेका छन्। यसपटक मेलामा सुरक्षा, प्रविधि, र व्यवस्थापनका क्षेत्रमा विशेष ध्यान दिइएकाले मेलामा आउने दर्शनार्थीले थप सहजता अनुभव गर्न सक्नेछन्।
गढीमाई पञ्चवर्षीय मेला यसपटकको झिलिमिली सजावट, प्रविधि, र मनोरञ्जनका कार्यक्रमहरूसहित अझ भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

