गढीमाई मेलालाई व्यवस्थित बनाउन बाराका १६ वटै पालिकाले दिए ४ दिनको सार्वजनिक बिदा

spot_img

बारा, १८ मंसिर । पाँच वर्षमा एकपटक मंसिर महिनाभरि लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले चार दिन (मंसिर २१ देखि २४ गतेसम्म) सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गढीमाई क्षेत्रको पर्यटन, संस्कृति र स्थानीय चाडपर्वको प्रवर्द्धन गर्ने उद्देश्यले यो बिदा घोषणा गरिएको हो।

मंसिर १ गतेदेखि सुरु भएको मेलालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले बाराका सबै स्थानीय तहले व्यापक तयारी गरेका छन्। मेलामा नेपाल र भारतलगायत विभिन्न देशबाट आउने लाखौँ भक्तजनको सहजताका लागि पालिकाहरूले विशेष ध्यान दिएका छन्।

भक्तजनको सुविधाका लागि मेला स्थलमा निशुल्क आवास, भोजन र स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। मेलामा प्रवेश गर्न र बाटो सहज बनाउन स्थानीय पालिकाले मेला क्षेत्रको आसपास गेट, प्रकाश व्यवस्था र सौन्दर्यकरण गरेका छन्। साथै, भारतीय सीमाबाट आउने दर्शनार्थीका लागि भन्सार र अन्य स्थानमा सहजीकरण गरिएका छन्।

मेलामा ठूलो संख्यामा भक्तजन सहभागी हुने भएकाले सुरक्षा सुनिश्चित गर्न करिब १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिले मेला क्षेत्रको शान्ति र व्यवस्थापनलाई प्राथमिकता दिएको छ।

गढीमाई मेलाको प्रमुख आकर्षणको रूपमा मंसिर २३ गते विशेष पूजा आयोजना हुनेछ। यस दिन मनोकामना पूरा भएका श्रद्धालुले राँगा, बोका, कुखुरा, हाँस, परेवा आदि बलि चढाउने परम्परा रहेको छ। आयोजक समितिका अनुसार लाखौँको संख्यामा बलि दिने भक्तजनहरूको उपस्थिति रहनेछ।

गढीमाई मेला बाराको गौरवमय सांस्कृतिक सम्पदा हो। करिब १ हजार बिगाहा क्षेत्रफलमा फैलिएको यो मेला पहिलोपटक सबै १६ पालिकाले अपनत्व लिएर व्यवस्थित गरेको हो। गत मंसिर २ गते स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले मेलाको व्यवस्थापनमा विशेष पहल गर्ने निर्णय गरेको थियो।

मेलाको सफल व्यवस्थापनले गढीमाई क्षेत्रको सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास स्थानीय सरकारहरूले गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय