spot_img

गढीमाई मेलाको सुरक्षा व्यवस्थामा कुनै कमजोरी नगर्न गृहमन्त्री लेखकको निर्देशन

spot_img
spot_img

बारा,१९ मंसिर । पाँचवर्षे गढीमाई मेलाको सुरक्षा सुनिश्चित गर्न गृह मन्त्रालयले विशेष चासो देखाएको छ। गढीमाई मन्दिर, बरियारपुरमा बुधबार पुगेका गृहमन्त्री रमेश लेखकले मेलाको सुरक्षा व्यवस्थाबारे जानकारी लिँदै सुरक्षा संयन्त्रलाई थप मजबुत बनाउने निर्देशन दिएका छन्।

मन्दिरमा पूजा अर्चना र दर्शनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले मेलामा आउने दर्शनार्थीहरूको चाप अत्यधिक हुने भएकाले सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिइने स्पष्ट पारे। उनले भने, “मेलामा श्रद्धालु भक्तजनहरूको सुरक्षामा कुनै पनि कमजोरी स्वीकार्य छैन। आवश्यकता अनुसार थप सुरक्षाकर्मी खटाइनेछ।”

गढीमाई मेलामा सुरक्षा सुनिश्चित गर्न गृहमन्त्री लेखकले बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरू, मधेस प्रदेशका प्रहरी प्रमुख, डीआईजीहरू लगायतलाई सुरक्षा निगरानी कडा बनाउन विशेष निर्देशन दिए।

गृहमन्त्री लेखकले मेलामा सीसीटीभी क्यामराको स्थापना, सुरक्षा सर्वेलेन्स प्रणालीको प्रभावकारी प्रयोग र अन्य अत्याधुनिक उपकरणमार्फत सुरक्षा निगरानी गर्न आदेश दिए। मेलामा उपस्थित प्रत्येक व्यक्तिको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्।

मेलाको शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकाय र सम्बन्धित पक्षबीच प्रभावकारी सहकार्य र समन्वय हुने उनले बताए। गृहमन्त्रीले स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई सतर्क रहन र कुनै पनि सम्भावित घटना रोक्न पूर्ण तयारी अवस्थामा रहन आग्रह गरे।

गढीमाई मेला नेपालका साथै भारत र अन्य छिमेकी देशका लाखौं श्रद्धालुहरूको आकर्षणको केन्द्र हो। यस्तो महत्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वको मेलामा सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले सम्पूर्ण स्रोत र साधनको उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस पटक मेलामा सुरक्षा उपायहरू थप कडा बनाइने र कुनै पनि खालका चुनौतीलाई रोक्न विशेष योजना कार्यान्वयन गरिने गृहमन्त्री लेखको निर्देशनले स्पष्ट पारेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय