काठमाण्डौं, २४ मंसिर । यो साता देशैभरका अदालतमा पेशी चढेका मुद्दाहरु स्थगित हुने भएका छन् ।
नेपाल बार एशोसिएशनको ५० औं कार्यकारिणी परिषद्को बैठक र नेपाल बार एशोसिएशनद्धारा अन्तराष्ट्रिय मानव अधिकार दिवस पोखरामा आयोजना गरेकोले देशैभरका कानुन व्यवसायीलाई भाग लिनुुपर्ने भएकोले देशैभरका मुद्दा सर्वाेच्च अदालतले स्थगित गरेको हो ।
नेपाल बार एशोसिएशनको अनुरोधमा सर्वाेच्च अदालतले कानुन व्यवसायीको अनुरोध भई आएमा जुनसुकै अवस्थाका जस्तोसुकै मुद्दा पनि पटक कायम नहुनेगरी स्थगित गर्न परिपत्र गरेको छ । कानुन व्यवसायीहरुले मंसिर २३ देखि मंसिर २६ गतेसम्म मुद्दा स्थगित गर्न पाउने पनि परिपत्रमा जनाइएको छ । बिहिबार र शुक्रबार मुद्दाको सुनुवाई हुने भएतापनि टाढाटाढाका जिल्लाबाट धाउनुपर्ने मुद्दाहरु भने यो साताभरी नै प्रभावित हुने भएका छन् ।
बारको बहस र बेञ्चको फैसला नै अदालतको अभिन्न अंग भएकाले बारको उपस्थितिविना अदालतले निर्णय गर्न नसक्ने भएकाले बारको अनुरोधमा बारका भेलाहरुमा मुद्दाको सुनुवाई स्थगित गर्ने गरिएको छ । सरकारी वकिल र न्यायाधीशहरुका भेलाहरुमा पनि मुद्दाको स्थगित हुने प्रचलन छ ।
भेलाहरु सरकारी विदाको दिन पारेर सेवाग्राहीलाई मर्का नपर्नेगरी गरिदिए हुन्थ्यो भन्ने अनुरोध हुने गरेको पटक पटक सुन्नमा आएपनि सरोकार संस्थाहरुले भने सो विषय गम्भीरतापूर्वक मनन गरेको भने पाइंदैन ।

