काठमाडौँ, २४ मंसिर । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घर–घरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उहाँले ‘एक घर, एक धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पु¥याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताए ।
दमक–३ को उत्तरी क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले देशको सामाजिक, आर्थिक विकासमा खानेपानीको महत्व हुने हुँदा स्वच्छ तथा सुलभ ढङ्गले खानेपानी सेवा उपलब्ध गराउन सरकार लागिपरेको स्पष्ट पारे । जलस्रोतमा नेपाल धनी भए पनि त्यसको प्रचुर उपलब्धतालाई उपयोगमा ल्याउन नसकिरहेको उल्लेख गर्दै उनले भन्े, “अब नागरिकले खानेपानी चाहियो भन्दै आन्दोलन गर्नु पर्दैन, सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।”
खानेपानी आयोजनामा उपभोक्तासहित सङ्घीय सरकारको करिब रु ५० करोड लगानी रहेको छ । यसमा उपभोक्ताको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानी छ । नवनिर्मित खानेपानी आयोजनाबाट दमक–२, ३ र ४ वडाका ६ हजार पाँच सय २१ घरधुरी गरी २६ हजार सात सय जनाले खानेपानीको सुविधा पाउने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका निमित्त आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिए । सो आयोजना आर्थिक वर्ष २०७६÷७७ मा निर्माण थालिएको हो । योसँगै दमकमा तीनवटा खानेपानी आयोजना सञ्चालनमा आउने उनको भनाइ थियो । यस खानेपानी आयोजनाले दमकको उत्तरी क्षेत्रका बासिन्दाको वर्षौंदेखि स्वच्छ खानेपानीको समस्या समाधान भएको बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोख्रेलले बताए ।

