spot_img

एनपीएलको उपाधी जनकपुर बोल्ट्सले उचाल्यो

spot_img
spot_img

वीरगन्ज, ०६ पुस । नेपाल प्रिमियर लिग एनपीएलको उपाधी जनकपुर बोल्ट्सले उचालेको छ । आज शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।

जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एक–एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो ।

सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए ।

सुदूरपश्चिम अङ्क तालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा आठ विकेटले हराएको थियो ।

एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्सले प्रतिस्पर्धा गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय