spot_img

रास्वपा महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

spot_img
spot_img

काठमाडाै,०६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा प्रतिनिधिको संख्या चार हजार २१० भन्दा बढी हुने भएको छ। पार्टी केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक तथ्याङ्कमा ३ हजार ८१० प्रतिनिधि निश्चित भएका छन् भने विदेशस्थित प्रवास सम्पर्क विभागबाट थप करिब २०० प्रतिनिधि सहभागी हुनेछन्।

सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार विधानअनुसार सभापतिले मनोनयन गर्ने २०० प्रतिनिधिसहित विभिन्न तह र संरचनाबाट थप प्रतिनिधिहरू सहभागी हुने व्यवस्था रहेको छ। समूहगत प्रवेश तथा छुटपुट नाम समावेश भएपछि कुल संख्या अझै बढ्न सक्ने उनले बताए।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशबाट ५२०, मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी हुने प्रारम्भिक सूचीमा उल्लेख छ।

पार्टी संरचनाअनुसार पालिका सभापति, क्षेत्रीय सभापति, जिल्ला तहका प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी तथा विभिन्न आयोग र विभागका सदस्यहरू महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। त्यस्तै, केन्द्रका विभिन्न विभागका सदस्य, निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी पनि प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

विदेशस्थित प्रवास सम्पर्क विभाग, संघीय नेतृत्व मञ्च, साथै स्थानीय तहका प्रतिनिधित्व प्रणालीअनुसार गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गरिएको छ।

यसैगरी, गत निर्वाचनमा पार्टीका उम्मेदवार रहेका, समानुपातिक सूचीमा परेका तथा सक्रिय सदस्यहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुने व्यवस्था रहेको छ।

रास्वपाले आज बस्ने केन्द्रीय समिति बैठकमा सभापतिले मनोनयन गर्ने प्रतिनिधिहरूको नामसमेत प्रस्तुत गरी साँझसम्म अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आइतबार उद्घाटन सत्र हुने र बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने कार्यक्रम तय गरिएको छ। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय