बीरगन्ज,०६ असार । बाराको विश्रामपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड ५१ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औं गाउँ सभा शनिबार सम्पन्न भएको हो।
गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटोको अध्यक्षतामा सम्पन्न सभामा बजेट प्रस्तुत गरिएको थियो। प्रस्तुत बजेटलाई गाउँपालिकाको समग्र विकास, आर्थिक समृद्धि तथा जनमुखी योजनाहरूलाई केन्द्रमा राखेर तयार गरिएको बताइएको छ।
सभामा उपाध्यक्ष प्रियंका देवी, प्रमुख प्रशासकीय अधिकृत सुनील प्रसाद केशरी तथा विभिन्न वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी गाउँसभा सदस्यहरू, कर्मचारी, गाउँ प्रहरी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको पनि सहभागिता रहेको थियो। गाउँपालिकाले प्रस्तुत बजेटमार्फत स्थानीय विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।




