विराटनगर, ११ पुस । मोरङको जहदा गाउँपालिकाकी २२ वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटनामा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले घटना सार्वजनिक गर्दै भारतीय नागरिक र दुई नेपाली नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भारतको अररिया कुशाकट्टा निवासी महम्द गुलजार, मोरङको कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, र सोही स्थानका १९ वर्षीय सोनुकुमार साह रहेका छन् ।
घटना मङ्गलबार दिउँसो सार्वजनिक भएको हो। कटहरी–२ स्थित बाँसको झ्याङमा हातखुट्टा बाँधिएको र मुखमा सल कोचिएको अर्धचेत अवस्थामा ती महिला फेला परेकी थिइन्। स्थानीयको सहयोगमा महिलालाई उद्धार गरी तत्काल कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
प्रहरीका अनुसार, पीडित महिला पराल लिन जाने क्रममा तीनजनाको समूहले उनलाई नियन्त्रणमा लिएर सिटी सफारीमार्फत कटहरी–२ को बाँस झ्याङमा पुर्याएको थियो। त्यहाँ हातखुट्टा बाँधेर र मुखमा सल कोचेर जबरजस्ती करणी गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले महिलाको उद्धारपछि प्रहरीले तत्काल घटनामा संलग्न तीनजनालाई पक्राउ गर्न सफल भएको जानकारी दिएका छन्। हाल पीडित महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र थप अनुसन्धान भइरहेको छ ।

