काठमाडौं,१३ पुस । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले देशका दुर्गम क्षेत्रका नागरिकलाई पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालका ग्रामीण क्षेत्रका धेरै जनता अझै पनि खानेपानीको अभावमा पीडित रहेको भन्दै यो समस्या समाधानका लागि ठोस कदम चाल्ने घोषणा गरे ।
मन्त्री यादवले नेपाललाई जलस्रोतमा धनी मुलुकको रूपमा चिनिने भए पनि नागरिकले खानेपानीका लागि आन्दोलन गर्नुपर्ने स्थिति दु:खद र लाजमर्दो भएको बताए। “जलस्रोतमा धनी मुलुक भएर पनि यहाँका नागरिकले पिठ्युँमा खानेपानी बोक्नुपर्छ, यो स्थितिलाई परिवर्तन गरेरै छोड्छु,” उनले भने।
देशका विभिन्न भूभागको स्थलगत अनुगमनबाट फर्केका मन्त्री यादवले तराई, पहाड, र हिमालका क्षेत्रहरूमा खानेपानीका चुनौती पहिचान गरेको र दीर्घकालीन समाधानका लागि योजनावद्ध रूपमा काम भइरहेको जानकारी दिए। “खानेपानी आयोजनामा पर्याप्त बजेट व्यवस्थापन गर्दै, हरेक घरमा धारा पुर्याउने लक्ष्य लिएका छौँ,” उनले भने ।
तराई क्षेत्रमा पानीका स्रोत सुकेका र पहाड तथा हिमाली क्षेत्रमा खानेपानी बोक्नुपर्ने बाध्यतालाई समाधान गर्न कठिनाइ भए पनि, समस्या समाधानका लागि आफू दृढ रहेको उनले बताए। “जलवायु परिवर्तनका असरले चुनौती थपेको छ, तर यो समस्या समाधान गरेर नागरिकलाई राहत दिन म प्रतिबद्ध छु,” मन्त्री यादवले उल्लेख गरे ।
मन्त्री यादवको यस पहलले देशका दुर्गम र ग्रामीण क्षेत्रमा खानेपानीको अभाव कम गर्ने आशा गरिएको छ ।

