काठमाडौं, १७ पुस । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूमा काठमाडौं महानगरपालिका-२ निवासी मधुलिका सिंह ठकुरी (३६), निर्जला शाक्य (३५), सिर्जना महर्जन (३४), र पुकार सिलवाल (२४) रहेका छन् ।
उनीहरू फसेको सूचना इलाका प्रहरी कार्यालय ठिंगनमा मंगलबार दिउँसो करिब ३:१५ बजे टेलिफोनमार्फत प्राप्त भएको थियो। सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहालको नेतृत्वमा चार जनाको टोली तुरुन्त उद्धारका लागि खटिएको थियो। तर स्थानको जटिल भौगोलिक अवस्था र जोखिमपूर्ण परिस्थिति सामना गर्न कठिनाइ भएपछि नेपाली सेनाको बेसक्याप्प महादेवटारका सुबेदार सिताराम कार्कीको नेतृत्वमा सात जनाको थप टोली परिचालन गरिएको थियो ।
प्रहरी र सेनाको टोलीले डोरी, हसिया, फलामको रड लगायतका उपकरणको प्रयोग गर्दै करिब ५ बजेतिर चारै जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।
भीमफेदी गाउँपालिका अन्तर्गत पर्ने लटारम्मेश्वर मन्दिर धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ। यो मन्दिर समुद्री सतहदेखि १,८५६ मिटरको उचाइमा अवस्थित छ। माघे संक्रान्ति, शिवरात्रि, र नयाँ वर्षमा यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ। मन्दिरबाट हिमशृंखला र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ, जसले गर्दा छोटो अवकाशमा घुम्न जानेहरूको रोजाइमा पर्ने गरेको छ ।
कान्ति लोकपथ हुँदै हेटौंडाबाट करिब एक घण्टा र काठमाडौंबाट करिब दुई घण्टामा भीमफेदी गाउँपालिकाको इपामा पुग्न सकिन्छ। त्यहाँबाट करिब दुई घण्टा पैदल उकालो यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ ।
यो घटनाले लटारम्मेश्वर मन्दिर क्षेत्रमा आवश्यक सुरक्षा र उद्धार पूर्वतयारीको महत्त्वलाई पनि उजागर गरेको छ ।
उ

