बारा,०८ माघ । २४औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा देशभर विविध कार्यक्रमहरू गरिएका छन् । यसै क्रममा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण हेडक्वार्टर बारा पिलुवाको आयोजनामा माघ ८ गते, मङ्गलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गणका प्रमुख रहेका थिए। कार्यक्रममा २ जना महिलासहित २३ जनाले रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी वीरगन्ज रेश्मकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको अनुसार, रक्तदानमा डम्बर बहादुर केसी, सुजित राय, विपना बारामु, निरज वाग्ले, जोगिन्दर राम, दिलीप लामा, सुमन मगरलगायतका व्यक्तिहरू सहभागी भए।
नेपाल रक्तसञ्चार केन्द्र वीरगन्जमा दिनप्रतिदिन देखिएको रगत अभावलाई सम्बोधन गर्न यो रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम नेपाल रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डे र जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।
सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजित यस कार्यक्रमले रगत अभावलाई सम्बोधन गर्न योगदान पुर्याएको छ भने रक्तदान अभियानलाई प्रोत्साहन गरेको छ।




