काठमाडौं,११ माघ । प्रधानमन्त्री केपी शर्मा ओली चिसोका कारण अस्वस्थ भएपछि पूर्वनिर्धारित उद्घाटन कार्यक्रमहरूमा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाह अनुसार उनी दौडधुप नगरी कार्यक्रमहरू भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, तिनाउ गाउँपालिकाको दोभानमा प्रशासकीय भवन उद्घाटन, सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङ मार्गको ब्रेकथ्रु, र बुटवल-गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास भर्चुअलरूपमा गर्नेछन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ किलोमिटर १२६ मिटर लामो सुरुङ मार्ग निर्माण कार्यको मुख्य चरण पूरा भएको छ ।
उक्त कार्यक्रममा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थिति थियो । आचार्यले बुटवलमा पाहुनाहरूलाई स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीको अस्वस्थताका बाबजुद भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिने तयारीले सरकारको कामलाई निरन्तरता दिने प्रतिवद्धता देखाएको छ ।

