काठमाडौं, १७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा सही ढंगले समाजको अग्रगामी रुपान्तरणमा प्रयोग हुनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन बिहीबार खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा उनले शैक्षिक र राजनीतिक आन्दोलनको नेतृत्व गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूलाई प्रेरित गरे ।
‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाहरूले समाजको रुपान्तरण र शैक्षिक आन्दोलनको अगुवाइ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,’ प्रचण्डले भने ।
उनले युवाहरूलाई देश विकास, सुशासन र गलत गतिविधिहरूको विरोधमा अग्रसर हुन पनि अपिल गरे ।
माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनबाट विजयप्रकाश सापकोटा अध्यक्ष, रोशन थापा मगर महासचिव र फुलमाया राना मगर कोषाध्यक्ष चयन भएका छन् ।
कार्यक्रमपछि सामाजिक सञ्जालबाट समेत सन्देश दिँदै प्रचण्डले नवनिर्वाचित नेतृत्वलाई बधाई दिएर युवाहरूको सकारात्मक भूमिकाले पार्टी, समाज र देशको मुहार फेर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

