काठमाडौं, १८ माघ । सामाजिक सञ्जालमा झोलुङ्गे पुल शुल्कको विरोध गरेकी अभियन्ता आशिका तामाङलाई बयानका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले तामाङलाई अदालतमा पेश गरेर बयान लिन सुरूवात गरेको बताए।
उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको आरोपमा अनुसन्धान गरिरहेको छ। मुलकी फौजदारी अपराध संहिताअनुसार, आपराधिक उपद्रवको कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ।
आशिकाले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका-९ स्थित झोलुङ्गे पुलको शुल्कविरुद्ध सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन्। तीन दिनपछि, उनले झोलुङ्गे पुलको शुल्क रसिद जलाएको घटनाले विवाद बढाएको थियो। यस घटनाबारे सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो।
त्यसपछिका घटनामा, तामाङलाई अभद्र व्यवहारको आरोपमा मुद्दा चलाइएको थियो र जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। पछि उनलाई भक्तपुर प्रहरीले हिरासतमा राखेको छ।

