काठमाडाैं, ०४ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी डेरीहरूलाई कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दूध बिक्री रकम यथाशिघ्र प्रदान गर्न निर्देशन दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दुग्ध किसानको भुक्तानीबारे स्पष्ट पारे ।
उनका अनुसार दुग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। साथै, संस्थानलाई दूध बिक्री गर्ने सबै कृषकहरूको भाद्र मसान्तसम्मको बाँकी रकम भुक्तानी भइसकेको छ भने बाँकी रकम पनि क्रमशः भुक्तानी प्रक्रियामा रहेको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले बजारमा बढ्दो महँगी नियन्त्रण गर्न सरकारले नियमित रूपमा तथा चाडपर्वको समयमा विशेष रूपमा बजार अनुगमन गर्दै आएको बताए ।
उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडजस्ता सार्वजनिक संस्थानमार्फत देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिए ।
‘कानून विपरीतका कुनै पनि क्रियाकलाप सह्य हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार बजार अनुगमनमा सशक्त रूपमा क्रियाशील छ। यदि कसैले अनियमितता गरेमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिनेछ ।’

