काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच रहेका १४ परम्परागत व्यापारिक नाकामध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले बझाङ जिल्लाको उरैभञ्ज्याङ नाका पुनःखोल्न कूटनीतिक पहल भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीका अनुसार सीमा नाका भएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमनका लागि अनुमति पत्र (अनुपति पत्र) उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा आइसकेको छ ।
नेपाल–चीनबीच व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै सम्झौता भएको उल्लेख गर्दै उनले भने, “चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन प्रवेशका लागि अनुमति पत्र प्रदान गर्ने कार्यविधि २०८१ लागू गरिएको छ। उरैभञ्ज्याङ नाका पुनःसञ्चालनका लागि आवश्यक समन्वय र कूटनीतिक प्रयास जारी छ ।”उनले केही नाका हिउँका कारण अस्थायी रूपमा अवरुद्ध हुनसक्ने बताउँदै नाकाहरू निरन्तर सञ्चालनमा रहेको स्पष्ट पारे ।

