काठमाडौं,१० चैत । सरकार परिवर्तनको चर्चा चलिरहेकै बेला प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भारतप्रति आक्रामक बनेका छन्। भारतीय जासुसी संस्था आफूलाई सत्ताच्युत गर्न सक्रिय रहेको भन्दै उनले च्यासलमा सम्पन्न सचिवालय बैठकमा कडा चेतावनी दिएका छन्।


पार्टी स्रोतका अनुसार ओलीले आफूलाई हटाउन दमकदेखि काठमाडौंसम्म भारतीय जासूसहरू परिचालित भएको दाबी गरेका छन्। उनले संसद्मा भारतको चलखेलबारे सार्वजनिक रूपमा बताउने चेतावनीसमेत दिए।
स्रोतका अनुसार ओलीले भने, “मलाई पदबाट हटाउन दमकदेखि काठमाडौंसम्म भारतीय जासूसहरू लागेका छन्। म पनि देखाइदिन्छु। संसदमै सबै कुरा भन्छु।”

प्रधानमन्त्री बनेपछि अन्य प्रधानमन्त्रीलाई भारतले छिट्टै निम्तो दिने गरेको भए पनि ओलीलाई नौ महिनासम्म पनि औपचारिक भ्रमणका लागि निम्त्याइएको छैन। पटकपटक भारत भ्रमणका लागि गरिएको प्रयास सफल हुन सकेको छैन।
यही सन्दर्भमा, भारतीय पक्षसँग सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमणमा रहँदा प्रधानमन्त्री ओली भने आफ्नै पार्टी बैठकमा भारतविरुद्ध आक्रामक देखिए।
प्रधानमन्त्री ओलीले चैत ४ गतेको सचिवालय बैठकमा फागुन २५ गते काठमाडौंमा भएको राजतन्त्र पुनःस्थापनाका पक्षधरहरूको आन्दोलनमा भारतीय सहयोग रहेको आरोप लगाए।
बैठकमा ओलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर राप्रपाको आन्दोलनमा देखिएको घटनालाई विदेशी शक्तिको संलग्नताका रूपमा व्याख्या गरे। संसदमा उनले व्यंग्यात्मक रूपमा भने, “हाम्रो अवस्था विदेशीको फोटो बोक्नुपर्ने सम्मको नाजुक छैन।”
बैठकमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि निस्तेज पार्न आवश्यक परेमा गिरफ्तारीसम्म जान सकिने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गणतन्त्रविरुद्ध लागेमा पूर्वराजालाई गिरफ्तार गर्नुपर्ने पक्षमा रहेको बताइएको छ।
निकट भविष्यमै प्रधानमन्त्री ओलीले संसद्मा समसामयिक विषयमा सम्बोधन गर्ने तयारी गरिरहेका छन्। यस क्रममा उनले भारतको हस्तक्षेपबारे खुलासा गर्ने अपेक्षा गरिएको छ।