ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो, बस्ती जोखिममा

spot_img

काठमाडौं, १३ चैत्र । ललितपुरको बुढीदेवी सामुदायिक वनमा मंगलबार साँझदेखि भीषण आगलागी भएको छ । आगो नियन्त्रण बाहिर जान सक्ने र स्थानीय बस्तीमा फैलने जोखिम बढेपछि नियन्त्रण प्रयास तीव्र पारिएको छ ।

बागमती गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार लामाका अनुसार, मंगलबार साँझदेखि लागेको आगो निभाउने प्रयास भए पनि पूर्ण रूपमा नियन्त्रणमा लिन सकिएको छैन। आगो बस्ती नजिकै पुगेपछि स्थानीयवासी र सुरक्षाकर्मीहरूको सक्रियतामा नियन्त्रण प्रयास जारी छ।

वडाध्यक्ष लामाले स्थानीय बासिन्दालाई आगलागीप्रति सचेत रहन आग्रह गर्दै आगो निभाउने अभियानमा सहभागिता जनाउन अनुरोध गरेका छन्। ‘हामी अहिले आगो निभ्याउने कार्यमा जुटेका छौं। आगो बस्तीमा पस्ने खतरा भएकाले सतर्कता अपनाउन जरुरी छ,’ उनले भने।

प्युटारका स्थानीय लालबहादुर भोम्जनका अनुसार, सामुदायिक वनसँगै जोडिएको बस्ती उच्च जोखिममा रहेको छ। स्थानीयबासीहरू मिलेर पातपतिङ्गर हटाई ‘फायर लाइन’ निर्माण गर्ने कार्यमा जुटेका छन्, जसले आगलागीलाई बस्तीमा पस्न रोक्ने विश्वास गरिएको छ।

गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनका अनुसार, प्युटारको गढी भञ्ज्याङ र चौकीटोल क्षेत्र आगलागीको उच्च जोखिममा छ। आगलागीको असर न्यून पार्न स्थानीय सरकार, जनप्रतिनिधि र स्थानीय बासिन्दा संयुक्त रूपमा खटिएका छन्।

डढेलोले क्षति पुर्‍याउने सम्भावना बढ्दै गएपछि गाउँपालिका र स्थानीय प्रशासनले सचेत रहन अनुरोध गर्दै आगो नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय