काठमाडौँ, १९ चैच । अमेरिकाबाट फिर्ता गरिएका भुटानी शरणार्थीहरू बेपत्ता पारिएको भन्दै भुटानका राजनीतिक दल र मानव अधिकार संघ–संस्थाले कडा आपत्ति जनाएका छन्।


भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्रुक नेशनल कांग्रेस–प्रजातान्त्रिकका अध्यक्ष रिन्जिन दोर्जी, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई र भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीबी सुब्बाले संयुक्त विज्ञप्ति जारी गर्दै भुटान सरकारले मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएका छन्।
हालै संयुक्त राज्य अमेरिकाले १० जना भुटानी शरणार्थीलाई चार्टर विमानद्वारा भुटान सरकारलाई हस्तान्तरण गरेको थियो। तर भुटान सरकारले तिनलाई पुनः भारततर्फ निष्कासन गरेको आरोप लगाइएको छ।

‘यसमध्ये आशिष सुवेदी, रोशन तामाङ, र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुगेको पुष्टि भए पनि अन्य सात जनाको अवस्था अज्ञात छ, जसले हामीलाई स्तब्ध बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
संयुक्त विज्ञप्तिमा भुटान सरकारले आफ्नै नागरिकलाई स्वदेश फर्किन नदिई अमानवीय व्यवहार देखाएको आरोप लगाइएको छ। उनीहरूले भुटान सरकारको यस्तो गतिविधिले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को उल्लङ्घन गरेको बताएका छन्।
‘अमेरिकाले भुटान सरकारलाई जिम्मा लगाएको नागरिकहरूलाई भुटानले रातारात देश निकाला गर्नु भर्त्सनायोग्य छ,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा नेपाल, भारत, मानव अधिकार संस्था, अन्तर्राष्ट्रिय समुदाय तथा अमेरिकी दूतावासलाई हस्तक्षेप गरी बेपत्ता पारिएका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ।
भुटानका राजनीतिक दल तथा मानव अधिकार संस्थाहरूले हालै भुटानबाट निष्कासित गरिएका तथा तीन दशकअघिदेखि स्वदेश फर्किन चाहने भुटानी शरणार्थीलाई पुनः बसोबासको वातावरण बनाउन दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।