वीरगन्ज,१९ चैत । सशस्त्र प्रहरी बल पर्साले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका कपडा र मकै नियन्त्रणमा लिएको छ। मधेश प्रदेशको पर्सा जिल्लामा विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा रु १० लाख ५३ हजार ९ सय बराबरको सामान बरामद गरिएको हो।


प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको पाँचजनाको मोबाइल गस्ती टोलीले वीरगन्ज–पोखरिया सडकखण्डस्थित अलौमा मधेश प्रदेश–०३–००१ ह ३०९४ नम्बरको मयुरी रिक्सा प्रयोग गरी भारतबाट भन्सार छलि ल्याउँदै गरेको रु ३ लाख ८७ हजार बराबरको कपडा बरामद गरेको थियो।
त्यसैगरी, सोही दिन पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–४ स्थित सतुमाई मन्दिर नजिकबाट भारततर्फ लगिँदै गरेको रु ६ लाख ६६ हजार ९ सय मूल्य बराबरको मकै पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रबाट भन्सार छलि गरि ल्याइने अवैध सामान नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडा बनाइएको जनाएको छ।
यसअघि पनि सशस्त्र प्रहरी बल पर्साले भन्सार छलि गरी ल्याइएका सामानहरू नियन्त्रणमा लिँदै आएको छ, जसले सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको छ।