काठमाडौं, २० चैत्र । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था लागू गरेको छ। बुधबार एक सूचना जारी गर्दै एनसीएचएलले रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै कारोबार रकम सीमाका आधारमा नयाँ शुल्क संरचना लागू गरिएको जानकारी दिएको हो।


नयाँ व्यवस्थाअनुसार मोबाइल बैंकिङ एप, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट, र वालेटमार्फत ५ सय रुपैयाँसम्मको ट्रान्सफर निःशुल्क हुनेछ। त्यस्तै, ५ सयदेखि ५ हजार रुपैयाँसम्म रकम ट्रान्सफर गर्दा ४ रुपैयाँ र ५ हजार रुपैयाँभन्दा माथिको हकमा ८ रुपैयाँ शुल्क लाग्नेछ। मर्चेन्ट भुक्तानीका हकमा ५ सय रुपैयाँसम्म २ रुपैयाँ, ५ सयदेखि ५ हजार रुपैयाँसम्म ४ रुपैयाँ र ५ हजारभन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।
एनसीएचएलले सेवा प्रदायक वा मर्चेन्टले शुल्क बेहोरेको अवस्थामा ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने जानकारी दिएको छ। डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यले कारोबार शुल्क समायोजन गरिएको एनसीएचएलको भनाइ छ।

डिजिटल कारोबारको संख्यामा तीव्र वृद्धि भइरहेको छ। गत आर्थिक वर्षमा मात्र आरपीएस प्रणालीमार्फत ५,६९७ अर्ब रुपैयाँ बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबार फर्छ्योट गरिएको थियो। चालू आर्थिक वर्षको ८ महिनामा ४,५५३ अर्ब रुपैयाँ बराबरको ६ करोड ८३ लाख कारोबार फर्छ्योट भइसकेको छ। हाल ५२ बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एपमा आरपीएस र कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर सेवा उपलब्ध छ भने १३ भन्दा बढी डिजिटल वालेटमार्फत बैंक खाताबाट क्यास इन र क्यास आउट गर्न सकिने सुविधा पनि छ।
एनसीएचएलको यो नयाँ शुल्क संरचनाले डिजिटल भुक्तानीलाई अझ सहज बनाउने र ग्राहकलाई सुलभ रूपमा अनलाइन कारोबार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।