spot_img

राष्ट्र बैंकले हासिल गर्‍यो उल्लेखनीय सफलता

spot_img
spot_img

वीरगन्ज,२३ चैत । नेपाल राष्ट्र बैंकका १७औं गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालमा राष्ट्र बैंकले आर्थिक स्थायित्व, वित्तीय प्रणालीको सबलता र डिजिटल भुक्तानीमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन्।

राष्ट्र बैंक ऐन, २०५८ अनुसार मूल्य तथा बाह्य स्थायित्व कायम गर्नु, वित्तीय प्रणाली सबल बनाउनु र सर्वसाधारणको विश्वास अभिवृद्धि गर्नु जस्ता जिम्मेवारी पाएको राष्ट्र बैंकले मौद्रिक, नियामकीय, विदेशी विनिमय नीतिलगायत विभिन्न माध्यमबाट ती दायित्व पूरा गर्दै आएको अधिकारीले स्मरण गराए।

कोभिड-१९ महामारीपछि उत्पन्न विश्वव्यापी आर्थिक संकुचन, रुस–युक्रेन युद्धका कारण उत्पन्न महँगीजस्ता चुनौतीबीच पनि राष्ट्र बैंकको सन्तुलित र उपयुक्त नीतिगत निर्णयका कारण नेपालको समग्र आर्थिक स्थायित्व कायम राख्न सफल भएको अधिकारीले बताए।

उनका अनुसार, बैंकको सञ्चालक समिति र कर्मचारीको सक्रियताले गर्दा महामारीको त्रासबीच पनि बैंकको कामकाज निरन्तर रूपमा अघि बढ्न सक्यो भने वित्तीय संस्थाहरूले बैंकको निर्देशन पालना गर्दै सेवा प्रवाहलाई निरन्तरता दिए।

गभर्नर अधिकारीले मौद्रिक नीतिको आधुनिकीकरण, तरलता व्यवस्थापनको सुधार, साइबर सुरक्षा, सम्पत्ति शुद्धीकरणको निगरानी, गैर बैंकिङ संस्थाको सुपरिवेक्षण जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यासहरूलाई आत्मसात गर्दै काम गरिएको जानकारी दिए।

डिजिटल भुक्तानी प्रणालीमा बैंकले लिएका प्रोत्साहनमूलक नीतिहरूका कारण विद्युतीय कारोबारमा क्रान्ति आएको अधिकारीले बताए। फिनटेक कम्पनीको लगानी, बैंक तथा वित्तीय संस्थाको सक्रियता र जनस्तरमा बढ्दो रुचिका कारण डिजिटल पेमेन्ट विस्तार भएको उनको भनाइ छ।

पाँच वर्षे कार्यकालमा संस्थागत सुधारका साथै, सेवा प्रवाहमा छरितोपन ल्याउन बैंकमा प्रविधि प्रयोग, दक्ष जनशक्ति भर्ना, लेखापरीक्षण समयमै सम्पन्न गर्नु, आय वृद्धि, सिफ्ट प्रणालीको सुरुवात र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण जस्ता उल्लेखनीय उपलब्धि हासिल भएको उनले स्पष्ट पारे।

बैंकको नीतिगत तथा संस्थागत सुधारका काम समेटिएको “नेपाल राष्ट्र बैंकको पाँच वर्षे कार्य सम्पादन दस्तावेज” प्रकाशन गरिएको जानकारी दिँदै उनले यो दस्तावेज भविष्यका नीति निर्माणमा मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे।

अन्त्यमा उनले नेपाल सरकार, राष्ट्र बैंक सञ्चालक समिति, डेपुटी गभर्नर, कार्यकारी निर्देशक, समस्त कर्मचारी, बैंक तथा वित्तीय संस्था, दातृ निकाय, सुरक्षा निकाय, सञ्चार क्षेत्र, पूर्व गभर्नर, अर्थशास्त्री, निजी क्षेत्र र सर्वसाधारण सबैलाई धन्यवाद ज्ञापन गरे।

उनको कार्यकालमा राष्ट्र बैंकले असहज परिस्थितिमा समेत देशको अर्थतन्त्रमा स्थायित्व कायम राख्न खेलेको भूमिका उल्लेखनीय भएको विश्लेषण गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय