पैसाको अभावमा उपचार रोकिएको ५ वर्षीय विशाल सदा, बाबु भन्छन्– “छोरालाई बचाइदिनुस्

spot_img

जनकपुर,२५ चैत्र । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहका गोरैयाका ललित सदा अहिले आफ्ना पाँच वर्षीय छोरा विशाल सदाको ज्यान बचाउन आर्थिक सहायता खोज्दै दर-दर भौतारिरहेका छन्। लामो समयदेखि पेट फुल्ने र खुट्टा सुन्निने समस्याबाट ग्रस्त रहेका विशाललाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ। तर, उपचारका लागि चाहिने रकम अभावका कारण ललित छोरा बोकेर घरमै बस्न बाध्य भएका छन्।

एक सामान्य मजदुर ललित पाँच जनाको परिवारको बोझ बोकिरहेका छन्। उनले छोरालाई पहिलो पटक राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए, जहाँबाट धरान रिफर गरिएको थियो। ‘छोराको पेट फुलेको र खुट्टा सुन्निएको देखेपछि लाहानसम्म पुऱ्याएँ, तर पैसा नहुँदा धरान लैजान सकिनँ,’ ललित भन्छन्।

उनले विभिन्न ठाउँबाट मागेर जम्मा गरेको ६ हजार रुपैयाँ दुई दिनमै उपचारमा सकियो। अहिले उनको हातमा जम्मा ६ सय रुपैयाँ मात्र बाँकी छ। घरमा ३ वर्षीय छोरा, १४ महिनाकी छोरी र पत्नी छन्। उनी अहिले ससुराली शम्भुनाथ नगरपालिका–३ कचन्दाहामा बसेर सहयोगको आशामा छन्।

‘१७ धुरको टहरा बाहेक केही सम्पत्ति छैन, सबै खर्च भइसक्यो,’ ललितले भने, ‘छोरालाई बचाउने कुनै उपाय देखिएको छैन।’
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहका अनुसार विशालको पेटमा पानी जमेको र लिभरमा समस्या देखिएकोले थप उपचारका लागि पीआइसियू हुने अस्पतालमा रिफर गरिएको हो।

विशालकी आमा ललितादेवी भन्छिन्, ‘रातभरि निन्द्रा लाग्दैन, छोरो हाम्रो आँखाअगाडि दिनदिनै कमजोर हुँदैछ। मेरो छोरालाई बचाइदिन सबैमा हात जोडेर बिन्ती गर्छु।’

spot_img

ताजा अपडेट

लोकप्रिय