काठमाडौं, २७ चैत्र । उत्तरी चीनको हेबेई प्रान्तको लोङहुआ काउन्टीस्थित एक नर्सिङ होममा मङ्गलबार राति आगलागी भएको छ, जसमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ। बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको नर्सिङ होममा राति ९ बजे आगो लागेकाे थियाे। बुधबार बिहान ३ बजेसम्म २० जनाको मृत्यु भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।
आगलागीको कारणले नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई नजिकैको अस्पतालमा सुरक्षित स्थानान्तरण गरिएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको सिन्ह्वाले जनाएका छन्।
यसअघि, जनवरीमा बेइजिङको उत्तरपश्चिमी क्षेत्रको झाङजियाकोउ सहरमा एक तरकारी बजारमा आगलागी हुँदा ८ जनाको मृत्यु र १५ जना घाइते भएका थिए। त्यसभन्दा एक महिना अघिको पूर्वी चीनको रोङचेङ सहरमा निर्माण स्थलमा भएको आगलागीमा ९ जनाको मृत्यु भएको थियो।

