जनकपुर, ३० चैत्र । सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गए राति भीषण आगलागी भएको छ, जसबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आत्मा राम रायको सञ्चालकत्वमा रहेको उक्त तेल उद्योगमा राति करिब ११:५० बजे आगो लागेको थियो। आगलागीको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक (सई) उदय कुमार झाको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। प्रहरी, स्थानीय बासिन्दा र दमकलको संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
प्रारम्भिक अनुमानअनुसार, आगलागीका कारण उद्योगमा भण्डारण गरिएको तेल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उपकरण र अन्य सामग्री पूर्ण रूपमा जलेर करिब १२ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको हो।
यद्यपि, घटनामा कुनै मानविय वा चौपायाको क्षति नभएको प्रहरीले स्पष्ट पारेको छ। आगलागीको कारण भने हालसम्म खुलेको छैन। घटना भएको स्थान इलाका प्रहरी कार्यालय मुर्तियाबाट करिब ४ किलोमिटर दक्षिणमा पर्दछ।

