पाल्पा, ३० चैत्र । पाल्पाको दोभान क्षेत्रमा पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बिहान करिब ४ बजे खसेको पहिरो र त्यससँगै कल्भर्टमा टिप्पर फसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। पहिरो पन्छाएपछि राजमार्ग आंशिक रूपमा खुलेको हो।
दुर्घटनाका कारण बुटवलबाट आउँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पहिरोमा पुर्दा पूर्ण रूपमा क्षति पुगेको छ। तर, कारमा सवार चालक र यात्रुहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई सामान्य अवस्थाबाट तत्काल उद्धार गरिएको थियो।
दुर्घटना गम्भीर हुन नसके पनि गाडी चलिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले पुरेपछि केही समय त्रासको अवस्था सिर्जना भएको थियो।
सिद्धार्थ राजमार्ग पश्चिम नेपालको प्रमुख मार्गमध्ये एक हो, जसबाट पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायत जिल्लाका यात्रुहरू दैनिक ओहोरदोहोर गर्ने गर्दछन्। वर्षा र हिउँदको मौसममा यो क्षेत्रमा पहिरो खस्ने समस्या बारम्बार देखिँदै आएको छ।




