जनकपुर, ३० चैत्र । धनुषाको मिथिला नगरपालिका–११ स्थित चुरे क्षेत्र अन्तर्गत पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीमा खानेपानीको चरम अभाव देखिएको छ। सुक्खा मौसम सुरु भएसँगै धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको हो।
दुधपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जितबहादुर घिसिङका अनुसार बस्तीमा रहेको एक मात्र पानीको मुहान चैतको पहिलो सातादेखि सुक्न थालेपछि करिब १६० घरधुरी दैनिक उपयोगको पानीका लागि सङ्घर्ष गरिरहेका छन्।
“पहिले धारामा २४ घण्टा पानी बग्थ्यो, अहिले त मुस्किलले एक घण्टा पनि आउँदैन,” अध्यक्ष घिसिङले बताए। उहाँका अनुसार दुई दिनअघि परेको वर्षाले केही राहत दिएको भए पनि समस्या दीर्घकालीन समाधानबिनाको अस्थायी हो।
स्थानीय प्रेमबहादुर कार्कीका अनुसार चुरे क्षेत्रमा वर्षेनि यस्तो समस्या दोहोरिने गरेको छ। पानीको अभावले पशुपालन, खेतीपाती र महिलाहरूको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ। “घाँस हुर्किँदैन, खेत सुक्खा छन्, पानी खोज्नमै दिन बित्छ,” कार्कीले दुःखेसो गरे।
यसैबीच, वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत तथा प्रकृति संरक्षण अभियन्ता सुरेश शर्माले चुरे क्षेत्रमा पानीका मुहानहरू तीव्र रूपमा सुक्दै गएका कारण स्थिति गम्भीर बन्दै गएको चेतावनी दिएका छन्। मौसम परिवर्तन, वन विनाश, र चुरेको दोहनले जमिनमुनिको पानीको सतह घटेर मुहानहरू सुक्दै गएका छन्।
शर्माका अनुसार, वर्षामा आएको कमीले मानव मात्र होइन, चुरे क्षेत्रका वन्यजन्तुहरू पनि पानीको संकटमा परेका छन्।
स्थानीय तह र सरोकारवाला निकायहरूले बस्ती नजिकै रहेको रातु नदीबाट लिफ्टिङ प्रणालीमार्फत खानेपानी ल्याउने योजना अगाडि सारेका छन्।

