काठमाडौं, ३० चैत्र । मुलुकभर जारी विभिन्न आन्दोलन र प्रदर्शनका कारण नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई प्रहरी कर्मचारीहरूको राजीनामा हाललाई स्वीकृत नगर्न निर्देशन दिएको छ।
प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, तथा सातवटै प्रदेश प्रहरी कार्यालयलाई यो निर्देशन दिएको हो।
प्रदर्शन र आन्दोलनले तिब्रता पाइरहेको अवस्थामा सुरक्षाको जिम्मेवारी अझै बढेको भन्दै तत्काल प्रभावमा लागू हुने गरी राजीनामा स्वीकृत नगर्न भनिएको छ। अर्को आदेश नआएसम्म प्रहरी कर्मचारीको राजीनामा स्वीकृति रोकिएको छ।
हाल काठमाडौंसहित देशका विभिन्न स्थानमा शिक्षक, आवासीय चिकित्सक, संघसंस्था तथा राजावादी समूहका प्रदर्शनहरू जारी छन्। विशेषतः राजावादी प्रदर्शन केही दिनअघि हिंसात्मक बन्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। यसै पृष्ठभूमिमा प्रहरी जनशक्तिको व्यवस्थापनलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।

