काठमाडौं,३० चैत । आगामी तीनदिनदेखि परेको पानीले काठमाडौंको वायु प्रदूषण निकै कम भएको छ। संसारकै प्रदूषित सहर बनेको काठमाडौं अहिले एक्यूआइ इन्डेक्समा ४० औं नम्बरमा झरेको छ। इन्डेक्समा ६७ नम्बरसहित काठमाडौं ४० औं क्रममा झरेको हो।
अहिले संसारकै सबभन्दा प्रदूषित ३ सहर चीनको रहेको छ। चीनको वुहाङ २५० नम्बरसहित पहिलो स्थानमा रहेको छ। त्यस्तै चीनकै चोङकिङ २३८ नम्बरसहित दोस्रो प्रदूषित सहर बनेको छ भने चेङडु २०७ नम्बरसहित तेस्रो प्रदूषित सहर बनेको छ।
केही हप्तादेखि प्रदूषण काठमाडौंलगायत नेपालका अन्य सहरमा पनि बढेको थियो। यसले मानिसको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न थालेको थियो।
काठमाडौं डम्म तुँवालोले ढाकेको थियो। विशेषगरी काठमाडौं उपत्यका र पूर्वी तराईका जिल्लामा यस्तै किसिमको तुँवालोले जनजीवन प्रभावित बनेको थियो। यसले गर्दा मानिसको आँखा-नाक पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने र श्वास–प्रश्वासमा समस्या देखिन थालेको थियो।
नेपालमा हिउँदमा (डिसेम्बर र जनवरी) र अर्को सुक्खायाम (मार्च, अप्रिल)मा सबैभन्दा बढी वायु प्रदूषण हुने गरेको छ। ‘खुला रूपमा हुने आगलागी वन डढेलो र कृषि अवशेष जलाउने काम मुख्य गरी चैत १५ देखि वैशाख १५ सम्म हुने गरेको छ। वर्षभरि सबैभन्दा बढी प्रदूषण यही अप्रिलमा नै हुन्छ।

