रौतहट, ६ वैशाख । रौतहटको गढीमाई नगरपालिका–४, संग्रामपुरकी को शंकास्पद मृत्यु प्रकरणमा प्रहरीमाथि निष्क्रियता र मिलेमतोको गम्भीर आरोप लागेको छ। पीडित परिवारले शुक्रबार गरुडामा पत्रकार सम्मेलन गर्दै घटनाको निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन्।


मृतकका पिता रामकिशोर ठाकुरका अनुसार गत वैशाख १ गते छोरीको अवस्था नाजुक रहेको खबर पाएका थिए। पछि खबर आयो कि अल्का ठाकुरको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको छ। घटनाबारे जानकारी पाएपछि आफन्त घटनास्थल पुगेका थिए, जहाँ प्रहरी परिचालन गरेर सुरक्षा घेरा बनाइएको थियो।
ठाकुरले २०७६ साल जेठ ५ गते दुर्गा भगवती गाउँपालिका–३, मत्सरीका सञ्जीव झासँग प्रेम सम्बन्धपछि छोरीको विवाह भएको जानकारी दिए। विवाहमा दाइजो नलिने सहमति भए पनि करिब २२ लाख रुपैयाँ खर्च भएको र पछि गाडी किन्न भन्दै साढे ३ लाख रुपैयाँ दिइएको उल्लेख गरे। सञ्जीव झा जापान जानुअघि थप ७ लाख रुपैयाँ सहयोग गरिएको पनि परिवारले खुलासा गरेका छन्।

मृतकका बुबाआमाले शव काठमाडौँमा पोस्टमार्टम गराइयोस् भन्ने माग गरेकामा त्यो माग त पूरा भयो, तर पछि शव झा परिवारलाई जबरजस्ती बुझाइएको गुनासो गरेका छन्। मृतककी आमा अनिता ठाकुरका अनुसार माइती पक्षले शव सद्गतिमा लैजान खोज्दा प्रहरीले लाठी चार्ज समेत गरेको आरोप लगाइन्। पत्रकार सम्मेलनमा उनले भनिन्, “हाम्रो उजुरी लिन प्रहरीले मानेन, फोटो खिच्न पनि दिएन।”
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले घटनालाई गम्भीर भन्दै अनुसन्धान भइरहेको दाबी गरेका छन्। “पोस्टमार्टम रिपोर्ट आएपछि मात्र जाहेरी दर्ता हुन्छ,” उनले भने।
तर कानुनविद् विजय यादव भन्छन्, “शंकास्पद मृत्युमा प्रहरीले उजुरी लिनैपर्छ। प्रारम्भिक उजुरी नलिनु कानुनी उल्लंघन हो।”
पीडित परिवारले घटनालाई आत्महत्या भनेर ढाकछोप गर्ने प्रयास भएको भन्दै यो हत्या भएको र प्रहरी झा परिवारसँग मिलेको आरोप लगाएका छन्। “अब हामी प्रहरीबाट न्यायको अपेक्षा गर्न सक्दैनौं, त्यसैले न्यायिक छानबिन आवश्यक छ,” मृतकका पिता ठाकुरले भने।